काठमाडौे ।
सघीय संसद, राष्ट्रियसभामा छ बर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ जना सदस्ययले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित सघीय संसद भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभयो । राष्ट्रियसभामा निर्वाचित १८ जनाको आज सपथ ग्रहण लिनु भएको हो । अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई साँसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापन समेत गर्नुभयो ।
५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने व्यवस्था छ । यद्यपि यो पहिलो कार्यकालमा भने गोलाप्रथाद्वारा २ वर्षे, ४ वर्षे र ६६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो । रिक्त हुन लागेका एक तिहाई सांसदका लागि ९ माघमा नै निर्वाचन भएको थियो। निर्वाचित १८ जना सांसदले आज सपथ लिएर कार्यकाल सुरु गर्न लागेका हुन् ।
माघ ९ मा भएको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई सांसद निर्वाचित भएका थिए । कांग्रेसले भने एक सिट पनि जित्न सकेन । नेकपाबाट निर्वाचित गोपी अछामी, इन्दिरा गौतम, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंंगाकुमारी वेल्वासे, वेदुराम भुषाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, गोपाल भट्टराई, बिमला घिमिरे, जगप्रसाद शर्मा, मायाप्रसाद शर्मा, सुमित्रा विसी, शारदा देवी भट्ट र तारामान स्वारले बुधवार सपथ लिनुभएको हो।
नेकपासँग चुनावी तालमेलबाट दुई सिट जितेको राजपाका शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादवले पनि सपथ लिनु भएको छ । नवनिर्वाचित सबै सदस्यको कार्यकाल भने ६ वर्षकै हुनेछ।
प्रत्येक २ वर्षमा एक तिहाई सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्था छ। संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ। सरकारका काम कारवाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरिह’ बन्ने देखिन्छ।
राष्ट्रिय सभामा नेकपा ५०, कांग्रेस ६, राजपा २ र समाजवादी पार्टीको १ सिट मात्र छ। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुन्छन्। ३ जना सांसद भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन्छन् ।
स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाई सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।
Comments