उड्डयन क्षेत्रमा कोरोना प्रभाव, कसरी गर्ने क्षेति न्युनिकरण

IMG_20200308_171351

काठमाडौं । विश्वका ९५ देशमा ‘कोभिड–१९’ को सक्रमण फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमित व्यक्तिको संख्या एकलाख नाघिसकेको छ।

यस रोगबाट हालसम्म तीन हजार ५०० जनाको मृत्यु भएको छ। विश्व बजारमानै सबैभन्दा ठूलो प्रभाव पर्यटन क्षेत्रमा परेको छ । नेपालमा पनि  कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन्।

कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नु परेको जनाएका हुन्। 

मुख्य पर्यटकीय याममै कोरोनाको त्रासले पर्यटन क्षेत्रलाई नकरात्मक प्रभाव पारेको छ। होटल क्षेत्रमा निरन्तर बुकिङ रद्द भइरहेको छ भने हवाई क्षेत्रमा पनि व्यवसाय ह्वात्तै घटेको छ । कोरोनाको सबैभन्दा बढी प्रभाव नेपालको पर्यटन क्षेत्र त्यसमा पनि हवाई उद्योगमा पर्ने भएकाले वैकल्पिक बजारको खोजी थालिएको वायु सेवा सञ्चालक संघका महासचिव योगराज कँडेल शर्माले बताउनु भयो ।

वसन्त ऋतुको अगाडि आरोहीलगायतका विदेशीले धमाधम बुकिङ रद्द गरिरहेको उहाँले जानकारी दिनुभयो । हेली एभरेष्टको मात्रै १३२ बुकिङ भएकामा ५२ वटा रद्द भइसकेका छन् । सोही अनुपातमा अन्य हेलिकोप्टरको पनि बुकिङ रद्द हुने क्रम बढेको संघले जनाएको छ। अहिले सार्वजनिक सेवामा रहेका १० हेलिकोप्टर कम्पनीका ३३ हेलिकोप्टर छन्। यीमध्ये ३० हेलिकोप्टर उडानयोग्य छन्।

अहिले दैनिक एकरदुई वटा मात्र उडान भइरहेको कम्पनीले जनाएका छन्। त्यसैगरी जहाजतर्फ आन्तरिक उडानमा नौ वायु सेवा प्रदायक कम्पनीले उडान गरिरहेका छन्ल। सबैभन्दा बढी हेलिकोप्टरको ५० प्रतिशतभन्दा बढी उडान कटौती भएको छ।

जहाजतर्फ ठूला वायु सेवा कम्पनी बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्सलगायतको उडान संख्या सन्तोषजनक रहे पनि डलर यात्री घटेपछि आर्थिक कारोवार ह्वात्तै घटेको जनाइएको छ । व्यवसायीले उपत्यकाको पर्यटकीय क्षेत्र चन्द्रागिरि हिल्सबाट हेलिकोप्टर चढेर काठमाडौँ उपत्यका राउन्ड लगाउन १० हजारको प्याकेज बनाएर उडान अनुमतिका लागि नियामक प्राधिकरणलाई पत्राचार गरेका छन् ।

आन्तरिक गन्तव्यमा जाने यात्रुलाई विशेष छुट ‘अफर’ लगायत व्यवस्था गरिने व्यवसायीको भनाइ छ। लाखौँ खर्चेर नेपाल आउने विदेशी जोखिमयुक्त देशको यात्रा गर्न रुचाउँदैनन् । त्यसको प्रत्यक्ष असर हवाई क्षेत्रमा पर्ने व्यवसायीको भनाइ छ। वायु सेवा सञ्चालक संघले शुक्रबार विज्ञप्ति निकालेर कोरोना भाइरसको हल्लाका कारण आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाएको थियो । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करिब चार अर्ब क्षति हुने संघको अनुमान छ ।

अहिले प्रतिमहिना आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको जनाइएको छ । अबको तीनदेखि छ महिना यसको असर देखिने व्यवसायीको आँकलन छ। युसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनःसंरचनाको व्यवस्था गर्न माग गरेको छ।

हवाई इन्धनमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तीमा ३० प्रतिशत घटाउनसमेत व्यवसायीले अनुरोध गरेका छन् । छिमेकी मुलुक चीनमा देखा परेको कोरोनाको संक्रमणले विश्वव्यापी रुप लिएसँगै संसारको अर्थतन्त्रलाई असर पार्ने र अर्थतन्त्रको मुख्य पाटो पर्यटन क्षेत्रमा नराम्रो असर पर्ने खतरा औँल्याउँदै संघले आन्तरिक वायुसेवा कम्पनीकोसमेत व्यापार घटेको जनाएको छ ।

विदेशी पर्यटक नआउँदा अहिले उपलब्ध जहाजलाई मागअनुसार यात्रु नपुग्ने भन्दै संघले सोही कारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

Comments

Top