सहिद स्मारक ‘बी’ डिभिजनः सबिनको ह्याट्रिकसँगै खुमलटारको जित

B Division

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको सोमबार सम्पन्न खेलमा श्री भगवती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् भने खुमलटार युथ क्लबले जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । त्यस्तै अर्को खेलमा श्री भगवती र टुसालले १–१ गोलको बराबरी खेलेको हो । सुरुवाती अग्रता बनाएपनि अन्तिम समयमा चुक्दा श्री भगवतीले बराबरीमा चित्त बुझाएको हो ।

खेलको आठौं मिनेटमा मोहन बहादुर थापा मगरको गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो । तर, खेलको इन्जुरी समयमा संगम शाहीले गोल गर्दै टुसाललाई हारबाट जोगाएका थिए ।

त्यस्तै खुमलटारको जितमा कप्तान सबिन केसीले ह्याट्रिक गरे । उनले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । श्री कुमारीका मिशन लामाले एक गोल फर्काए ।

जितसँगै खुमलटारले ५ खेलमा १३ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा उक्लिएको छ । श्री कुमारी ३ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ । बराबरीसँगै चौंथो स्थानको टुसालले ५ खेलमा ८ अंक जोडेको छ । सातौंको श्री भगवतीले ५ खेलमा ५ अंक जोडेको छ ।

आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

Comments

Top