सहिद स्मारक बी डिभिजन फुटबलः १२ गतेसम्मका लागि लिग स्थगित

B division

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल स्थगित गरेको छ । विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले जारी ‘बी’ लिग स्थगित गरेको हो ।

एन्फाले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै ‘बी’ लिग आगामी चैत १२ गतेसम्मको लागि स्थगित गरेको जनाएको छ । ‘बी’ लिगमा अहिले छैटौं चरणको खेलहरु संचालन भईरहेको छ । यस्तै एन्फाले सातदोबाटोमा रहेको एन्फा सचिवालय, धरान र बुटवलमा रहेको एन्फा एकेडेमी पनि बन्द गरिएको जनाएको छ ।

त्यसअघि मंगलबार भएको ‘बी’ डिभिजनको खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटो झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता उल्टाएर सातदोबाटोले बराबरी खेलेको हो ।

खेलको दशौँ मिनेटमा भुवन राईको गोलबाट झम्सिखेलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७१ औं मिनेटमा सातदोबाटोका विरेन्द्र लिम्बुले गोल गर्दै टोलीलाई हारबाट जोगाए । बराबरीसँगै लिग लिडर सातदोबाटोले ६ खेलमा १६ अंक जोडेको छ । झम्सिखेलले ५ खेलमा ६ अंक जोडेको छ । झम्सिखेल नवौं स्थानमा रहेको छ ।

त्यसैगरी मंगलबार नै सम्पन्न अर्को खेलमा ब्वाईज युनियन क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै भएको खेलमा ब्वाईज र आरसीटीले २–२ गोलको बराबरी खेलेको हो । ब्वाईजको लागि टंक बहादुर स्याङ्देन र प्रदिप बोगटीले एक एक गोल गरे । आरसीटीका अजित गुरुङ र नविन मान कर्माचार्यले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसीटीले बराबरी खेलेको हो । खेलको तेस्रो मिनेटमै अजितको गोलबाट आरसीटीले अग्रता बनाएको थियो । खेलको आठौं मिनेटमा ब्वाईजका कप्तान टंकले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । तर, खेलको १४ औं मिनेटमा टंकले नै गोल गर्दै ब्वाईजलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको २४ औं मिनेटमा नविनको गोलबाट ब्वाईजले २–१ को अग्रता बनायो । तर, खेलको ३५ औं मिनेटमा प्रदिपले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए । बराबरीसँगै ब्वाईजले ६ खेलबाट ८ अंक जोडेको छ । आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।

Comments

Top