अवैध एसएमएस बाइपास गर्ने भारतीय नागरिक पक्राउ

CIB_Nepal

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध अन्तर्राष्ट्रिय एसएमएस बाइपास गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कोरोना भाइरसका कारण प्रहरीले सक्रियता बढाइरहेको अवस्थामा सीआईबीले भारतका प्रशान्त साहलाई पक्राउ गरेको हो ।

अवैध कल बाइपास (भीओआईपी) बन्द भएपछि उनले नेपालमा पहिलोपटक अवैध रुपमा एसएमस (मोबाइल सन्देश) बाइपास गर्दै आइरहेको प्रहरीले जनाएको छ । साहले काठमाडौं महानगरपालिका–२६ नरदेवीमा कोठा भाडामा लिएर अवैध रुपमा एसएमएस बाइपास गर्दै आएको प्रहरीले जनाएको छ ।

नेपालमा यसअघि भारतीय नागरिक समेतको संलग्नतामा अवैध रुपमा कल बाइपास हुँदै आएको थियो । तर, प्रहरीको सक्रियतामा अवैध कल बाइपास गर्ने धन्दा बन्द भएपछि भारतीय नागरिक साहले एसएमएस बाइपास गर्ने धन्दा शुरु गरेका हुन् । उनले अत्याधुनिक प्रविधि (जीओआईपी गेटवे)को प्रयोग गरेर एसएमएस बाइपास गरेको देखिएको सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले बताए ।

साहले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको इन्टरनेट प्रयोग गरेर अनलाइनमार्फत अन्तर्राष्ट्रिय क्यारियरहरुसँग सम्पर्क गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट ६४ पोर्टको जीओआईपी गेटवे १ थानसहित नेपाल टेलिकमका सिमकार्ड ३० थान, एनसेलका सिम १ सय ८५ थान, ल्यापटप, राउटर लगायतका उपहरणहरु बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित