'प्रधानमन्त्रीबाट ओलीलाई हटाउने दिवास्‍वप्‍न कसैले नदेखोस्'

 Mahes_1

काठमाडौं । काठमाडौंसँग सिमाना जोडिएको विकास निर्माणले तीव्र गति लिएको जिल्ला हो भक्तपुर। भौगोलिक दृष्टिले सानो भए पनि प्राकृतिक सम्पदा र पर्यटकीय सम्भावना भएको भक्तपुरमा पछिल्लो समय विकासको गतिले फड्को मारेको छ। जिल्लाको विकासमा निरन्तर लागिपरेका छन् भक्तपुर प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य महेश बस्नेत। 

कम उमेरमै तत्कालीन गुण्डु गाउँ विकास समितिको अध्यक्ष भएर काम गरेका बस्नेत भक्तपुरको विकाससँग मात्रै नभएर युवा आन्दोलनमा पनि सक्रिय रहँदै आएका छन्। उनी तत्कालीन एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ हुँदै अहिले नेकपाको युवा आन्दोलनकै नेतृत्व लिएर अघि बढिरहेका छन्। पार्टीभित्र देखिएका विवाद, युवा आन्दोलन र भक्तपुरको विकास निर्माणका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको अंशः

अहिले केमा व्यस्त हुनुहुन्छ? 

राजनीतिक हिसाबले मैले पार्टीको जुन जिम्मेवारी पाएको छु, पार्टीको तर्फबाट राष्ट्रिय युवा संघको इन्चार्ज र भक्तपुर २ को प्रतिनिधिसभाको सदस्यसमेत रहेको छु। युवा आन्दोलनलाई व्यवस्थित गर्दै भक्तपुरका विकास निर्माणका कामलाई अगाडि बढाइरहेको छु। कोरोनाको कारणले संसद् बैठक स्थगित भयो। अरू गतिविधि पनि अलिक कम भएका छन्। मुख्यतः आफ्नो जिम्मेवारीलाई सार्थक तुल्याउनमा लागिरहेको छु। 

युवा आन्दोलनको कुरा गर्नुभयो,अहिलेको युवा आन्दोलन खासगरी केमा केन्द्रित छ? 

युवामा लामो समयसम्मको राजनीतिक अस्थिरताका कारणले युवामा निराशा छाएको छ। त्यो निराशालाई चिर्न सक्नु युवा आबद्ध राजनीतिक संगठनहरूले युवाहरूमा देखिएको पलायन, अराजकता र आपराधीकरण जस्ता कुरालाई तोड्नुपर्ने भूमिकामा हामी उभिएका छौँ।  पार्टी एकताको काम नसकिएको हुनाले युवाहरूको नेतृत्वदायी भूमिकामा रहेको राष्ट्रिय युवा संगठन नेपालको गतिविधिमा पनि केही सुस्तता देखिएको छ। मूलत: युवाहरूमा देखिएको वैदेशिक आकर्षण र पलायनको गति रोकेर नेपालमै समृद्धिको बाटोमा लाग्न सकिन्छ भन्ने बाटोमा ल्याउन आवश्यक छ। युवाहरूलाई अनुशासित र सीर्जनशिल बनाउँदै समृद्ध नेपाल निर्माणमा परिचालन गर्ने अभियानमा जुट्न आवश्यक छ। 

पछिल्लो समय युवाहरू राजनीतिक आन्दोलनबाट टाढा हुँदै गएको कुरा महसुस भएको छ कि छैन? 

युवा आन्दोलन पहिलेको जस्तो नभई साँघुरो हुँदै गएको छ जस्तो लाग्दैन? मलाई लाग्छ, यस्तो हुनु स्वाभाविक प्रक्रिया हो। हिजो राजनीतिक अधिकार प्राप्तिको बेलामा युवाहरूलाई व्यवस्थित रूपमा संगठित गरिएको थियो। उनीहरू राज्य संयन्त्रविरुद्ध एउटा आन्दोलन र क्रान्तिमा लागे।

आज मुलुक समृद्धिको बाटोमा लागेपछि युवाहरू पेशेवर रूपमा आन्दोलनमा लाग्‍नु/लगाउनु पर्दैन। केही सक्षम युवाहरूलाई पछि देश हाँक्ने क्षमताका साथ अगाडि लैजानुपर्छ। बाँकी युवाहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीलगायत उनीहरूको क्षमता र चाहनाको आधारमा लगाउनुपर्छ। अहिले लगभग हामी यस विषयमा संक्रमणको अवस्थामा छौं। त्यसैले पनि युवा आन्दोलनमा अन्योल हो कि भन्‍ने मानिसहरूलाई लागेको हुनुपर्छ। यो अवस्था धेरै लामो समय रहँदैन।

स्थापित नेतृत्वले युवालाई अवसर दिएन भन्‍ने कुरा पटक-पटक सुनिँदै आएको छ, तपाईंलाई के लाग्छ? 

लामो समयको राजनीतिक अवरोधको कारणले समयमा निर्वाचन भएन। राजनीतिका क्रममा कहिले निरंकुशता त कहिले सशस्त्रद्वन्द्वको चापमा बस्‍ने स्थिति रह्यो। राजनीतिक पङ्तिमा रहेका पुराना नेताहरू नै लामो समयसम्म 'होल्ड'मा बस्‍नुपर्‍यो। त्यसैले शीर्ष नेताहरू आफूले नै काम गर्ने मौका नपाएको गुनासो गरिरहेका छन्। यसले पनि युवाको मौका पछाडि धकेलियो। सधैं यस्तो हुदैन।

युवाहरू राजनीतिमा विकर्षण हुनुको नतिजा वैदेशिक रोजगारीको आकर्षण या निराशा भन्‍ने छ, अब आकर्षित हुनुपर्ने कारण के त? 

बल्ल स्थिति अनुकूल हुँदै आएको छ। तीन तहका निर्वाचनपछि सबैले काम पाएको अवस्था छ। अब युवाहरूले आफ्नो योग्यता र क्षमतालाई विकास गरी सकारात्मक सोचका साथ अघि बढ्न आवश्यक छ। पछिल्लो समयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको परिकल्पना गरेर काम अगाडि बढाइराख्नु भएको छ। हामी सामन्तवाद, दलाल तथा विभिन्‍न पुँजीवादी चरित्र तथा तिनका संस्कारको जालोमा परेका छौँ। त्यसलाई जरैदेखि उखेलेर फाल्न आवश्यक छ।

माफियातन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न अहिलेको सरकारले गरेको गतिविधिबाट तरंग पैदा भएको छ। प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण गराउन जानुअघिको टिप्पणी र त्यसपछिको अवस्थामै फरक देखिइसकेको छ।  नेताहरूबीच छलफल असहमति या विवाद पनि हुन सक्छ। निर्णयमा पुग्‍नुअघि यी सबै कुरा स्वीकार्य हुन्छन्। जीवन्त पार्टीभित्र यो ठूलो कुरा होइन।

एउटा मार्क्सवादी पार्टीले द्वन्द्ववाद,अन्तरविरोध सबैलाई स्वीकार गरेर अगाडि बढ्ने कुरा हो। अध्यक्षद्वयको बीमा देखिएको विवाद उहाँहरूबाटै समाधान हुनुपर्छ र हुन्छ। ओली जत्तिको सक्षम व्यक्ति समकालीन राजनीतिमा अरू छैनन् भन्‍ने अब सबैले बुझिसकेका छन्। समाजमा रहेका आपराधिक गतिविधि हटाउन सरकारले काम गरेकाले युवा यो अभियानमा सहयोगीको रूपमा लाग्‍नुपर्छ। त्यसलाई संस्थागत र प्रभावकारी बनाउन सकेको खण्डमा युवा आन्दोलन सफल हुन्छ। सरकारको 'होस्टे'मा हामीले 'हैंसे' गरे मुलुकले काँचुली फेर्छ। अपार प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोगमा श्रम र पुँजी परिचालन गर्ने हो भने नेपाल छिट्टै समृद्ध बन्छ भन्‍ने कुराले युवालाई मात्र होइन, सबैलाई आकर्षित गरेको छ।

पार्टी एकीकरणपछि युवा संगठनभित्र मात्रै नभएर पार्टीमा पनि गुट र महागुट भएको भन्‍ने लाग्दैन? युवा संगठनमा गुट राजनीतिको असर कस्तो छ? 

नेपाल कम्युनिष्ट पार्टी मात्र नभएर सबै राजनीतिक दलमा गुटबन्दीको अवस्था छ। दलका नेताले आफ्नै खालको संगठन बनाएका पनि छन्। प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिम्मत गरेपछि पार्टी एकता भयो। अहिले त्यसले सकारात्मक सन्देश जनस्तरसम्म पुगेको छ। तर पनि पछिल्लो समयमा पार्टीभित्र सतहमा केही विवाद आएको सुनिएको छ। प्रधानमन्त्री ओलीले सरकारको र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अधिकार लिएपछि उहाँहरूले आफ्नो जिम्मेवारी सम्हाल्दै अन्य नेताहरूलाई पनि पार्टीभित्र उहाँहरूको योग्यता र स्तर अनुसारको जिम्मेवारी दिएर अघि बढेको खण्डमा कुनै समस्या देखिँदैन। मलाई लाग्छ-उहाँहरूबीचको विवादको कुरा ठूलो होइन। समन्वय र समझदारीको कुरा मात्रै हो।

सचिवालय बैठकका क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल बीचको विमतिको वास्तविकता के हो?

उहाँहरूबीच ठूलो विवाद छ जस्तो लाग्दैन। वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने, त्यसमा पनि प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्ने कुरासमेत भएको कुरा बाहिर आयो। फरक धारमा रहेका कतिपय नेतारकार्यकर्ताको समायोजन हुन नसकेको कारणले पनि विवाद देखिएको हुनसक्छ। पार्टीभित्र सबैलाई सँगै लैजानुपर्छ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको सहमतिको आधारमा अगाडि बढ्नुपर्छ। अहिले चर्चामा आएको भनिएको नेता वामदेव गौतमको विषयलाई लिएर भएको विवाद समाधान गर्ने पक्षमा लाग्‍नुपर्छ। हो, अहिले यस विषयमा प्रधानमन्त्री ओली अल्पमतमा हुनुभएको हुनसक्छ। पार्टीभित्र विषयहरूमा कहिले को कता, को कता परिरहन्छ, तर यो स्थायी कुरा होइन। 

तपाईंले वामदेव गौतमको विषय निकाल्नुभयो, उहाँकै विषयलाई लिएर किन पार्टीभित्र विवाद भइरहन्छ? 

प्रतिनिधिसभामा बर्दियाबाट पराजित भएपछि पार्टी एकताको बेलामा गौतम र नारायणकाजी श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। उहाँलाई उच्च सम्मान गरेका छौँ, गर्नुपर्छ। उहाँलाई संसदमा ल्याउनका लागि डोल्पा, काठमाडौंका सांसदहरूलाई पनि पछि हटाउने तयारी पनि भयो। रवीन्द्र अधिकारीको अवशानपछि पोखराबाट ल्याउन प्रधानमन्त्रीले पनि ल्याउन चाहनुभयो। तर, पछि नेता गौतमले नै मान्‍नुभएन। राष्ट्रियसभाको निर्वाचनमार्फत नारायणकाजीसहित उहाँ पनि संसदमा जान तयार हुनभयो। त्यसमा पनि संविधान संशोधन गरेर प्रधानमन्त्री बन्‍ने लक्ष्यका साथ भन्‍ने सुनियो। 

पार्टी एकता भएको दुई वर्ष पूरा हुन लाग्यो। तर, अझै तत्कालीन एमाले र माओवादी भन्‍ने ट्याग हट्न सकेको छैन, कसरी अन्त्य गर्न सकिएला? यो मामिलामा त गुटको कुरा पनि अघि आयो नि!

फरक कार्यनीति, कार्यशैली र लगभग फरक पृष्ठभूमिबाट आएका नेता-कार्यकर्ता भएका कारणले केही समय लाग्छ। एकता प्रक्रियामा ढिलाइ भएको कारणले तल्लो तहसम्म कतिपय कुरा मिलिरहेका छैनन्। तर, केही समयपछि आफैँ नियन्त्रण हुँदै आउँछ। पार्टीको समग्र हितमा नेताहरू एक ठाउँमा बस्‍नुलाई गुटको रूपमा लिनु पनि हुँदैन। पार्टी नै समस्या पर्ने खालका कुरालाई गुट भनिन्छ।

पार्टीको नेतृत्व र कार्यकर्ता पंक्तिले हेरेका छौँ। यस्ता गतिविधि रोक्न नेकपा सक्षम छ। गुटबन्दीको अन्त्य हुन्छ।  गुटबन्दी नियन्त्रण गर्न पार्टीको जिम्मेवारीलाई सहजै स्वीकार गर्ने, केन्द्रीय सदस्यदेखि संगठनका साथिहरूले त्यहि बाटोमा लाग्‍ने, सबै सरकारले एकजुट भएर काम गर्न सक्नुपर्छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको कारणले केहीले अब खसाल्न सकिन्छ भन्‍ने सोचेको पनि हुन सक्छ। तर, त्यो असम्भव छ अहिले। ओलीलाई हटाउने दिवास्वप्‍न सपना कसैले नदेखोस्। पार्टीले सरकारमार्फत समृद्ध नेपाल निर्माणको अभियान चलाएको छ। सबै प्रदेश र स्थानीय तहले काम गरिरहेका छन्। 

संघ, प्रदेश र स्थानीय तहबीचको तालमेल मिलेको छैन भन्‍ने कुरा आइरहेको छ, तपाईंले संघीय सांसदको हिसाबले काम गरिराख्नु भएको छ, अनुभव कस्तो छ? 

अहिले संविधान कार्यान्वयनको पहिलो चरण भएको हुनाल हामीले तीनै तहको सरकारको कामबारे संविधान, कानुन, संविधान, बजेट र हाम्रो अवस्थाबारे अध्ययन गर्न आवश्यक हुन्छ। स्थानीय, प्रदेश र संघीय सरकारबीचको तालमेल अझै मिल्न नसकेको यथार्थ हो। केही जनप्रतिनिधिको व्यक्तिगत कार्यशैलीको कारणले त्यस्तो देखिएको हो।

संघीय सरकारले त्यसको नेतृत्व गर्न सक्नुपर्छ। सरकार र पार्टीले व्यवस्थित ढंगबाट कसरी अगाडि लैजान सकिन्छ भन्‍ने कुरा सोच्‍न आवश्यक छ। हामी गर्दै-सिक्दैको अवस्थामा पनि छौँ भन्‍ने बिर्सनु हुँदैन। किनभने संघीय प्रणाली हाम्रा लागि नौलो प्रणाली हो। संघीय प्रणाली बुझाउन पहिले स्थानीय प्रशिक्षण प्रतिष्ठानमार्फत तालिम र ज्ञानको पनि खाँचो देखेको छु।

तपाईं राजधानी उपत्यकाको काठमाडौं नजिकैको जिल्लामा हुनुहुन्छ, भक्तपुरको विकासमा लागिरहँदा जिल्लालाई कस्तो बनाउन चाहनुहुन्छ? 

भक्तपुर लामो समयदेखि राजनीतिक 'आइसोलेसन'मा गयो। किनभने त्यहाँ सधैं नेमकिपाले जित्यो। र, ऊ जहिल्यै सरकारबाहिर बस्यो। सरकारको विरोधमा लाग्यो। हामीले त्यो कुरालाई चिर्ने योजना बनायौँ। जनताले हामीलाई पत्याए। कांग्रेसलाई पनि जनताले विकल्पको रूपमा लिए। तर, उसले पनि अपेक्षित काम गर्न सकेन। अहिले स्थानीय तहमा पनि हामीलाई जनताले राम्रो साथ दिएका छन्। अहिले स्थानीय सरकारसँग समन्वय गरेर भक्तपुरको विकास योजना तयार पारेका छौँ। 

भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिका सधैं ग्रामीण पालिकाको रूपमा परिचित भयो। तर, दुवै मध्यपुर ठिमीभन्दा धेरै ठूला हुन्। भौतिक पूर्वाधारको काम निकै दयनीय थियो। ती दुईवटा नगरपालिकामा केन्द्रित रहेर व्यवस्थित बनाउने अभियान सुरु गरेका छौँ। रंगशाला, कभर्ड हल, तरकारी बजार बनाउने, सरकारी कार्यालयलाई एकीकृत गर्ने, पर्यटकीय हिसाबले, धार्मिक हिसाबले विकास गर्ने लगायतको परिकल्पनाअनुरूप काम अघि बढाएका छौँ। वीर अस्पताल निर्माणका लागि हामीले चाँगुमा जमिन दिइसकेका छौं। भौतिक र यातायातको क्षेत्रमा जडीबुटीको यातायात चाप कम गर्ने, हनुमन्ते र मनोहरा करिडोरको विकास गर्ने योजना छ। दुवै करिडोरलाई तत्कालका लागि बेलिब्रिज बनाएर कोटेश्‍वरको जाम हटाउने तयारी भइरहेको छ।

पछिल्लो समय भक्तपुरले विकास निर्माणमा धेरै फड्को मार्दैछ। पछिल्लो दुई वर्षमा धेरै विकास भएका छन्। जनता पनि जनप्रतिनिधिहरूबाट सन्तुष्ट भएका छन्। हनुमन्तेको करिडोर जति छिटो बन्यो त्यति नै फाइदा हुन्छ। काम पनि धमाधम भइरहेको छ। कतिपयले यसले आफूलाई अफ्ठ्यारो पर्ला कि भन्‍ने सोचेको भए त्यो नसोचे हुन्छ, हामी सबैका लागि काम गर्छौं। 

भक्तपुर सानो जिल्ला पनि हो, तर प्राकृतिक हिसाबले हेर्दा भरिपूर्ण छ, सबैतिर शहर बनिरहेको छ। तीव्र शहरीकरणले भक्तपुरको कृषिक्षेत्रमा असर पारेको छैन? सपना त धेरै रहेछन्, पूरा भएको देख्‍न चाहिँ कति समय पर्खनुपर्ने हो? 

विकासका लागि गरिएका निर्णयहरूलाई हामीले जनस्तरमा लैजान र बुझाउन निरन्तर मिहिनेत गरिरहेका छौं। स्मार्टसिटी र त्याण्डपुलिङको काम सक्नुपर्नेछ। यहाँ अहिले दैनिक ३० भन्दा धेरै घर निर्माणको सिफारिस माग भइरहेको छ। अहिले जति जमिन छ, त्यही जमिनलाई हामीले औद्योगिक तथा कृषिमा प्रयोग गर्न सक्छौँ।

हामीले सकेसम्म विकास निर्माणको एउटा बाटोबाट अर्को बाटो पनि खोजिरहेका छौँ। त्यसैले हामीले भक्तपुरको विकासको लागि धेरै खालका अभियान सुरु गरेका छौँ। भक्तपुरलाई समृद्धिको बाटोमा लगेर नमुना जिल्लाको रूपमा विकास गर्ने खाका तयार गरेका छौँ। 

मलाई लाग्छ : स्थानीय जनताको सकारात्मक सोचाइ, स्थानीय सरकारहरूको सक्रियता र प्रतिपक्षमा रहनुभएका राजनीतिक दलको सहयोग भइरह्यो भने सबै काम नसकिए पनि आउँदो २-३ वर्षमा नै उल्लेखनीय परिवर्तन देखिनेछ।

अन्त्यमा केही?

अहिले कोरोनाको महामारी छ। नेपाल मात्र होइन विश्व नै संकटमा छ। यसबेला मूलत: युवा साथीहरूलाई स्थानीय सरकार, पार्टी कमिटी र संघीय सरकारसँग समन्वय गर्दै महामारी भित्रिन नदिन तथा भित्रिए पनि फैलिन नदिन र जनचेतनाका लागि काम गर्न आग्रह गर्दछु।

–    तीर्थ कोइराला र रमेश पराजुली/थाहाखबर

Comments

Top