सन्तोषको मृत्यु अटो इम्युन डिजिजको कारण भएको पुष्टि

chitwan_corona_hospital_KSwa4SbtbU

चितवन ।
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका ३० बर्षिय सन्तोषको यादवको मृत्यु कोरोनाले नभई अटो इम्युन डिजिजको कारण मृगौला फेल हुँदा भएको पुष्टि भएको छ । यादवको उपचारको क्रममा आज बिहान ९ बजे भरतपुरको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौले वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिजको कारण भएको जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।

पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा आज बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ ।

यादवलाई आइसोलेसनमा राखिएको थियो । उनी २ वर्षदेखि मिर्गौला रोगले ग्रसित थिए । उनलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको थियो । मृतक केहिदिन अघि मात्रै कोरोनाको लक्षणसँग मिल्दो जुल्दो समस्या लिएर अस्पताल पुगेका थिए ।

यादवको मृत्यु पछि उनलाई कोरोना भाईरस हुन सक्ने आशंकाले वीरगंजको जनजीवन त्रसित भएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौको परिक्षण रिपोर्टले कोरोना भाइरस नभएको पुष्टि गरेपछि जनजीवनमा राहत भएको छ ।

Comments

Top