'आकाशतिर हेरेर मृत्यु कुर्नुबाहेक अर्को विकल्प देखिँदैन'

  माइन्यूज भ्यूज 

article_1 copy

नेपाल सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन भएको छ । अधिकांशले घरको घेरो नाघ्ने प्रयास गरेको देखिँदैन राजधानीमा, अनि अधिकांश देशभर । तर, कतिपयलाई कोरोनाले कुनै संक्रमण नै गर्दैन भनेजस्तो गरी सडकमा घुमिरहेका देखिन्छन् ।

लकडाउन उल्लंघन गर्नेमा सबैभन्दा मोटरसाइकलहरु अगाडी देखिएका छन्, बाध्यता हो वा रहर, खाली सडकमा मोटरसाइकल हुइँक्याउनुको मज्जा अनुभूति ? हो, कतिपयलाई बाध्यता पनि होला, जसले बिरामी बाबुका लागि औषधी लिन दौडिएका होलान्, वा छोरा लागि लिटो सकिएर दौडिएका होलान् । तर, कतिपय भने रहरमै दौडिएका जस्ता देखिन्छन्, लकडाउन बेला साथी संगी भेटिएर 'म्यारिज'मा दिन कटाउनका लागि हुइँकिइँरहे जस्ता ।

प्रहरी कर्तव्यबाट विमुख नभई मास्कबिना सडकमा उत्रिएका छन्, मास्क र हेल्मेट लगाएकाहरुलाई मास्कको महत्व बुझाउन । जसले गर्दा जुवातास नियन्त्रणका लागि ध्यान दिन सकेका छैनन् । नेपालीहरुलाई पहिलेदेखि लाग्ने गरेको विदा र बन्दका बेला जुवातासको लत यसपालिको लकडाउनले बढाउने देखिएको छ ।

आम मानिसहरुले घरमा बसेर इटाली र स्पेनको दृश्य हेर्दै गरेका बेला स्वास्थ्यकर्मीहरु अस्पतालमा मास्कसहितको बिरामी हेर्दैछन् । जसले विश्वमा मच्चाईरहेको विषमताको परिस्थिति नजिकबाट नियाल्दैछन् । इटाली र स्पेनमा उपचाररत स्वास्थ्यकर्मीनै संक्रमित भइरहेको समाचार आएका बेला स्वीजरल्यान्डका सेना नै संक्रमणबाट प्रताडित भएको समाचार सुन्दै सडक अनि अस्पतालमा खटिइरहेका छन् ।

कतिपयलाई बाध्यता पनि होला, जसले बिरामी बाबुका लागि औषधी लिन दौडिएका होलान्, वा छोरा लागि लिटो सकिएर दौडिएका होलान् । तर, कतिपय भने रहरमै दौडिएका जस्ता देखिन्छन्, लकडाउन बेला साथी संगी भेटिएर 'म्यारिज'मा दिन कटाउनका लागि हुइँकिइँरहे जस्ता ।

चाउचाउ र पाउरोटीको भरमा सडकमा २४ सै घन्टा खटिएका ती तमाम सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको साथै उनीहरुको परिवारको सुरक्षामा पनि सरकार गम्भीर हुनुपर्ने देखिन्छ । जसरी आम जनतालाई सुरक्षित राख्नका लागि घर बस्ने नियम लागू गराउन व्यस्त रहेका सुरक्षाकर्मी सडकमा खटिएका छन्, त्यसरी नै २४ सै घन्टा अधैर्य हामी नेपालीको उपचार गर्न खटिएका स्वास्थ्यकर्मी धन्यवादका पात्र छन् ।

उपत्यकालगायत शहरी क्षेत्रहरुबाट गाउँतर्फ गएका मानिसहरु नै बढी सचेत भएर शिक्षा फैलाउनु पर्नेमा उनीहरु नै कतिपय ठाउँमा महामारीका कारक बन्ने देखिन्छ, जसरी विदेशबाट आएका मानिसमा मात्रै संक्रमण देखिएपछि उनीहरु नै सचेत रहनुपर्ने देखिन्छ । त्यस्तै भारत र खाडी मुलुकहरुमा वैदेशिक रोजगारीमा गएर आएकाहरुले आफूसँगै आफ्नो परिवार र समाजमा संक्रमण फैलिन नदिन विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ । अहिलेसम्म विदेशबाट आएका मानिसहरुमा नै संक्रमण देखिएको हुनाले विदेशबाट आएकासँग टाढा रहनु वा उनीहरु आफूहरु नै सचेत हुनुपर्ने देखिन्छ ।

बाध्यताले फुर्सदिला बनेका हामीहरु चीनको बुहान सामान्यीकरण तर्फ लागेको, दक्षिण कोरियामा बिना लकडाउन कोरोना नियन्त्रणमा लिएको भन्दा पनि इटाली, स्पेन, बेलायत अनि अमेरिकामा ज्यान गुमाइरहेका मानिसको संख्या गन्न ब्यस्त भएका छौं । इटलीले नियन्त्रणमा गरेको बेवास्ताका कारण भोगेको नियति हेर्दै नेपालमा दोहोरिन नदिनका लागि ध्यान दिनुपर्ने हुन्छ ।

विश्वको उत्कृष्ट स्वास्थ्य सुविधा उपलब्ध भएको इटालीमा त यति धेरै मानिसले ज्यान गुमाइरहेका छन् भने नेपाल जस्तो सिटामोलका लागि १/२ घन्टा हिँड्नुपर्ने ठाउँका हामीले महामारी भित्रिएको खण्डमा आकाशतिर हेरेर मृत्यु कुर्नुबाहेक अर्को विकल्प देखिँदैन, त्यसैले हरेक नागरिकले सरकारद्वारा गरिएको लकडाउनलाई पूर्ण पालना गर्दै विश्वका शक्तिशाली मुलुकहरुले अहिले भोगेको नियतिबाट टाढा रहने प्रण अनि कोशिष गर्नुपर्दछ ।
तस्बिर: इन्टनेट

Comments

Top