अलपत्र पर्यटकको उद्दार शुरु, फ्रान्सबाट चार्टर्ड प्लेन आउँदै

buddha_air_udan
काठमाडौं ।
नेपालका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरुको उद्दार कार्य शुरु भएको छ । बिहीबार बिहानै देखि उद्दार कार्य शुरु गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा मार्च महिनासम्म हवाइ मार्गबाट आएका तर अध्यागमनको रेकर्डअनुसार स्वदेश फर्किन बाँकी विदेशीहरुको संख्या करिब १० हजार छ । तीमध्ये धेरै पर्यटक रहेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकको उद्धारको लागि दुई जहाजले अनुमति लिएको बताएको छ।विदेशी नागरिकलाई उद्धार गर्नको लागि बुद्ध एयरले काठमाडौं–पोखरा– काठमाडौंको लागि आनुमति मागेको छ भने तार एयरले पनि काठमाडौं–लुक्ला–काठमाडौं उडानको लागि अनुमति लिएको छ।

उद्दारका लागि लुक्लाबाट बिहीबार चार्टर्ड विमान काठमाडौं ल्याइँदै गरेको बोर्डले जनाएको छ । विमानले लुक्लामा रहेका फ्रेन्च, जर्मन तथा अन्य यूरोपेली मुलुकका नागरिकलाई काठमाडौं ल्याउनेछ । पोखरा तथा विभिन्न स्थानबाट पनि उनीहरुलाई काठमाडौं ल्याउने तयारी थालिएको छ । पोखरा, मुस्ताङ घुम्न गएका पर्यटकलाई बुद्ध एयरमार्फत काठमाडौं आउँदै छन् भने सगरमाथा क्षेत्रमा गएका पर्यटकलाई तारा एयरमार्फत उद्धार हुँदै छ।

यस्तै, फ्रान्स सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई लैजान फ्रान्सबाट चार्टर्ड प्लेन नेपाल पठाउने तयारी गरेको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन लागिएको हो ।

Comments

Top