मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने सरकारको तयारी

Cabinet_mantriparisad-baithak_baluwatar_9_12
काठमाडौं १६ चैत्र ।
सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन थप एकसाता लम्ब्याउने तयारी गरेको छ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नेपालमा बढेको कोरोनाको जोखिमलाई मध्येनजर गर्दै लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको बताइएको छ । त्यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा दिउसो बस्ने कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय बैठकले लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकले लकडाउनको अवधि थप्ने सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने र मन्त्रीपरिषदको आज अपरान्ह बस्ने बैठकबाट त्यसबारेमा निर्णय लिइने बुझिएको छ ।


सरकारले गएको मंगलबार चैत ११ देखि १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गरिरहेको छ । लगातार थप पाँचौँ संक्रमित फेला परेपछि जोखिम न्यूनिकरण गर्न लकडाउन थप गर्न लागेको स्रोतको भनाइ छ ।

सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने पनि तयारी गरेको बताइएको छ । बैङ्कको व्याज मिनाहदेखि व्यवसायीहरुलाई कर्जा छुट, मजदुर बर्गलाई जीवन धान्न दिइने राहतको घोषणा पनि गर्ने तयारी सरकारको छ ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगिसकेको छ भने विश्वभर ६ लाख बढी संक्रमित छन् । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ ।

Comments

Top