लकडाउन एक साता थप गर्न सिफारिस,वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय

Iswor pokhrel corona
काठमाडौ ।
कोरोना भाईरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले थप ७ दिनसम्‍‍म लकडाउन बढाउनुपर्ने निष्कर्श निकाल्दै सरकारलाई सिफारिस गर्दै बिभिन्न महत्वपुर्ण निर्णयहरु गरेको हो ।

समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास काम रहेको अवस्थालाई ध्यानमा राखेर वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको समेत गरेकाे हो । सरकारले यस अघि चैत ८ देखि १८ गतेसम्म हवाई उडान रोक्ने निर्णय गरेको थियो । कोरोनाको सङ्क्रमणको त्रास बढेपछि सरकारले अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउन समय थप गरेको हो ।

त्यस्तै बैठकले विदेशबाट फर्केर क्वारन्टीनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारन्टीनमा बस्न अनिवार्य गरिए पनि धेरैले त्यसलाई पलना नगरेपछि सरकारले कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।

बैठकमा नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने निर्णय समेत भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारन्टीनमा अनिवार्य बस्नुपर्नेछ ।

त्यस्तै  बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको छ । चीनबाट आएका पाँच थान पीसीआर मेसिन तत्काललाई चार प्रदेशमा १–१ थान पठाउने निर्णय भएको छ। बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ त्याहाँ पठाउने निर्णय भएको छ। उक्त मेसिनसँगै एक हजार थान औषधि, उपकरण पठाउने निर्णयसमेत भएको छ ।

 

Comments

Top