कोरोना कष्टः भारतमा एकै दिन २३ को मृत्यु, सार्कभर ९८ जनाले ज्यान गुमाए

2_4 Saarc
काठमाडौं । विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सार्क क्षेत्रमा हालसम्म जम्मा ९८ जना मानिसको मृत्यु भएको छ । सार्क सदस्य राष्ट्रमा सबैभन्दा ठूलो देश मानिएको भारतमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

नेपालको छिमेकी राष्ट्र चीनबाट सुरु भएको भाइरसका कारण हालसम्ममा सार्क सदस्य राष्ट्रहरुमा हालसम्म भारतमा ५८ जनाको मृत्यु भइसकेको छ। भारतमा १ हजार ९९८ जना संक्रमित देखिएकोमा पछिल्लो २४ घन्टामा मात्रै २३ जनाले ज्यान गुमाइसकेका छन् भने ६ सय १ जना नयाँ संक्रमितको पहिचान भएको छ ।

त्यसपछि पाकिस्तानमा हालसम्म २ हजार १ सय १८ जना संक्रमित भएका छन् भने २७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अर्को सार्क सदस्य राष्ट्र बंगलादेशमा ६ जनाको मृत्यु भएको छ ।  बंगलादेशमा भने ५४ जना संक्रमित देखिएको छ ।

अफगानिस्तानमा हालसम्म २३७ जना संक्रमित फेला परेका छन् । हालसम्म अफगानिस्तानमा ४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

श्रीलंकामा भने १ सय ४६ जना संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ । श्रीलंकाले सुरुदेखि नै कर्फ्यु लगाउँदै आएको छ, तुलनात्मक रुपमा श्रीलंकामा नयाँ संक्रमितको संख्या ज्यादै न्यून रहेको छ । माल्दिभ्समा जम्मा १९ जनालाई संक्रमण देखिएको छ ।

नेपालमा भने हालसम्म ५ जना संक्रमित भेटिएको तथ्यांक सार्वजनिक भएको छ, त्यसमध्ये १ जना उपचारपछि पूर्ण निको भइसकेको जनाइएको छ । सार्क सदस्य देशहरुमा सबैभन्दा कम संक्रमित संख्या भूटानमा रहेको जनाइएको छ । हालसम्म भूटानमा ४ जनामा संक्रमण देखिएको छ ।

चीनबाट सुरु भएको भाइरसका कारण हालसम्म सबैभन्दा धेरै इटालीका मानिसहरुको मृत्यु भएको छ भने त्यसपछि स्पेनमा मृत्यु भएको छ । पछिल्ला दिनमा अमेरिकामा एक्कासी संक्रमित र मृतकको संख्या बढेको छ । हालसम्म कोरोना भाइरसका कारण ४७ हजार १ सय ८९ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ३५ हजार २२ जना संक्रमित भेटिएको छ ।


प्रतिक्रिया

सम्बन्धित