नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारी
हुम्ला ।
हिमाल पारीको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।
देशमा जारी लकडाउनबारे काठमाडौंमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गरिएको नाम्खा गाउँपालिकाका जनप्रतिनिधिले जानकारी दिएका छन् । केही समयअघि वल्र्डलिङ्कको इन्टरनेट सेवाले काम गर्दा देश विदेशको खबर सहजै थाहा पाउने लिमीका बासिन्दा अहिले इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चारविहीन अवस्थामा छन् ।
अहिले नेपाल टेलिकमको एक लाइन भिस्याट फोनबाट यहाँका बासिन्दाले काम चलाइरहेका छन् । त्यही फोनबाट काठमाडौंबाट आफन्तले कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन भएको जानकारी दिए लगत्तै लिमी उपत्यका प्रवेश गर्ने सबै नाका स्थानीयवासीले बन्द गरेका छन् । लकडाउन भएको पाँचौं दिनमा मात्र थाहा पाएको बताउँदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंबाट आफन्तको फोन नआएको भए लकडाउनबारे थाहा नहुने बताए ।
सो फोन पनि दिनमा पाँच÷सातपटक बिग्रिने समस्याले नयाँ जानकारी पाउन कठिन भएको उहाँले बताउनुभयो । तामाङले लिमीमा लकडाउन छैन तर आउने नाकामा मानिस पालो बसेर कोही गाउँमा छिर्न नपाऊन् भनेर पहरा बस्ने गरिएको छ । सम्भावित कोरोना सङ्क्रमण हुनसक्ने भन्दै वडाको बैठक बसी लिमी प्रवेशका दुईवटै नाका बन्द गर्ने निर्णय गरिएको उनले बताए ।
उनले लिमीमा भारततर्फ व्यापार व्यवसाय गर्न गएका, काठमाडौंमा रहेका र चीनको ताक्लाकोटतर्फ काम गर्न गएका व्यक्ति भित्रिन सक्ने भन्दै नाका बन्द गर्नुपरेको जानकारी दिए । अहिले पनि लिमीका बासिन्दा कोरोना भाइरसको सङ्क्रमणका बारेमा बेखबर रहेको उनले बताए ।
उनले कुनै पनि सञ्चार माध्यमको प्रभावकारी पहुँच नहुँदा पीडा भोग्नुपरिरहेको बताए । लिमीमा अन्यत्रबाट आउने कोही पनि भित्रिन नपाऊन् भनेर फोनमार्फत अध्यक्ष तामाङले सदरमुकाम सिमकोटमा रहेका सञ्चार माध्यमलाई जानकारीसमेत गरेको बताए । मङ्सिरबाट चैत महिनासम्म लिमीका बासिन्दा हिमपातका कारण आफैँ पनि लक डाउनमा पर्छन् ।
यो अवधिमा कोही आवतजावत गर्न सक्ने अवस्था पनि छैन । भएको प्रहरी चौकी पनि कात्तिक महिनाबाट सिमकोट फर्केको छ । अहिले हेलिकोप्टर रिजर्भ गरेर लिमी जानुबाहेक अन्य कुनै विकल्प छैनन् । स्थानीय बासिन्दासँग टेलिभिजन नभएको र रेडियो नसुनिने भएपछि सूचना पाउने माध्यम भनेकै भिस्याट टेलिफोन हो तर त्यो पनि सुन्न कठिन हुन्छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया