भारतबाट आएका मजदुरलाई विद्यालयमा थन्क्याइयो, क्वारेन्टाइन रित्तै
काठमाडौं ।
कोरोना संक्रमणको डरले स्वदेश फर्किन लागेका एक सय २६ नेपाली अझै भारतको वनबासा र टनकपुर क्षेत्रमा अलपत्र परेका छन् । उनीहरूलाई भारतले विद्यालयमा राखेको छ । तर, भारतबाट नेपाल प्रवेश गरेका नेपाली मातृभूमिमा प्रवेश गर्दा पनि सुरक्षित राखिएको छैन ।
कञ्चनपुरमा चार सयको हाराहारीमा क्वारेन्टाइन बेड निर्माण गरिएका छन् । तर, ती अधिकांश रित्तै छन् । भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छैन । कञ्चनपुरमा नौ स्थानीय तह र दुई वडाले गरी चार सय क्वारेन्टाइन बेड निर्माण गरेका छन् ।
भीमदत्त नगरपालिका–२ ले २० र शुक्लाफाँटा नगरपालिकाको १ नम्बर वडाले आफ्नै पहलमा २० बेड निर्माण गरेका छन् । कञ्चनपुरमा निर्माण भएका क्वारेन्टाइनमा अहिलेसम्म ४० जना मात्रै बसेका छन् । बाँकी साढे तीन सय बेड रित्तै भए पनि भारतबाट फर्किएका ७२ जना मजदुरलाई भने एक सामुदायिक विद्यालयमा थन्क्याइएको छ ।
मंगलबार भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि ल्याइएका १८ र महाकाली नगरपालिका–१ बैलबन्दबाट ल्याइएका ५० जनासहित बुधबार थपिएका सातजनालाई बैजनाथ माध्यमिक विद्यालयमा राखिएको छ । दुई रातदेखि उनीहरू बैजनाथ माध्यमिक विद्यालयमा सकसबीच बसिरहेका छन् ।
भारतका विभिन्न स्थानबाट पैदल हिँडेर तीन दिनअघि स्वदेश आइपुगेका उनीहरूलाई क्वारेन्टाइनको साटो विद्यालयमा राखिएपछि उनीहरू बेच्नमा सुत्न बाध्य भएका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरिप्रसाद खतिवडाले भने अहिले राखिएको स्थान पनि क्वारेन्टाइन नै भएको दाबी गरेका छन् । तर, सबैलाई यसरी राख्दा संक्रमणको जोखिम रहेको भन्दै पीडितका आफन्तले सुरक्षित क्वारेन्टाइनमा राख्न माग गरिरहेका छन् ।
बैजनाथ माध्यमिक विद्यालयदेखि नजिकै आइसिएच भवनमा भीमदत्त नगरपालिकाले सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ, तर त्यो क्वारेन्टाइनमा ती नेपालीलाई राखिएको छैन । बैजनाथ माध्यमिक विद्यालयमा दुई दिनदेखि बस्दै आएका नेपालीले के जेलमा राख्न खोजेको भन्दै आक्रोश पोखेका छन् ।
भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीय भानदेव भट्ट भारतको मानेश्वर गुडगाउँ ट्रान्सपोर्टमा रोजगारी गर्दै आएका थिए । उनी पनि भारतमा कम्पनी बन्द भएपछि लकडाउनकै बीचमा कम्पनीकै ट्रक चढेर दिल्ली पुगेका थिए ।
‘हामी त्यहाँ कम्पनी बन्द भएपछि कतै पैदल त कतै ट्रकमा चढेर आफ्नो मातृभूमि फर्र्कियौँ,’ उनले भने, ‘नेपाल आइपुग्दा झन् असुरक्षित भएँ ।’ बेन्चमा सुत्नुपर्ने बाध्यता मात्र होइन, लामखुट्टेको टोकाइले बिरामी हुने चिन्ता पनि उनीहरूमा छ । ‘कि क्वारेन्टाइनमा राखियोस्, कि होम क्वारेन्टाइनमा बस्न दिइयोस्,’ उनले गुनासो गरे । विद्यालयमा रहेकालाई खाना भने सशस्त्र प्रहरीले खुवाएको छ ।
स्वदेशको पीडाले झस्कायो
दिल्लीबाट पैदल घर फर्किएका डिलासैनी गाउँपालिका–६ बैतडीका मनिराद दमाईले पनि विद्यालयमा बस्न समस्या भएको दुखेसो पोखे । झन्डै १४ वर्षदेखि उनी दिल्लीको एक जुस पसलका काम गर्दै आएका थिए । ‘भारतमा लकडाउन लम्बिने भएकाले मालिकले घर जान भनेपछि म घर फर्किएको हुँ,’ उनले भने, ‘आफ्नै भूमिमा पुग्दा यस्तो सकस होला भन्ने सोचेको थिइनँ ।’ एउटै कोठामा १०–१२ जना राखिएकाले संक्रमणको जोखिम रहेको भन्दै उनले लामखुट्टेको टोकाइबाट अरू रोग लाग्न सक्ने चिन्ता पनि व्यक्त गरे ।
भारतको गुडगाउँमा क्यान्टिनमा काम गर्दै आएका वेदकोट नगरपालिका–९ सुन्दरपुरका सुरेन्द्र कुँवरको दुःख पनि त्यस्तै छ । चार दिन पैदल हिँडेर नेपाल आइपुगेका उनले नेपाल आइपुगेपछि खुसी हुन नसकेको बताए ।
अहिले राखिएको स्थानमा राम्रै मानिस पनि बिरामी हुने बताए । जसोतसो बसिरहेकाहरूलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेको गुनासो पनि सुनिएको छ । लकडाउन उल्लंघन गरेकाले कारबाहीमा परेको भन्दै प्रहरीका अधिकारीहरू आएर जस्तै समस्या देखिए पनि चुपचाप बस्न चेतावनी दिने गरेको गुनासो उनीहरूले गरे ।
नयाँ पत्रिका दैनिक ।
प्रतिक्रिया