लुकीछिपी नेपाल आउनेक्रम रोकिएन

Nepali @Boarder
कैलाली ।
सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । लकडाउन र सीमानाका बन्द गरिएको भए पनि सबैभन्दा बढी दार्चुला क्षेत्रबाट नेपाली लुकेर आउने गरेका छन् ।

फाटफुट्ट रूपमा कैलाली, कञ्चनपुर, बैतडी र डडेलधुराका सुरक्षा नभएका ठाउँबाट नेपाल आउनेक्रम चलिरहेको छ ।

दार्चुला समाचारदाताका अनुसार नेपाल सरकारले देशभरि लकडाउन, सीमा बन्द गर्नुका साथै एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवतजावतमा समेत कडाइ गर्ने निर्णय गरेको बेला भारतबाट चोरबाटो हुँदै दार्चुला भित्रिनेक्रम रोकिएको छैन ।

प्रहरीको तथ्याङ्कअनुसार चैत १७ गतेदेखि व्यास, खलङ्गा, जौलजिबी, लालीलगायत स्थानबाट महाकाली तरेर ८५ जना नेपाली मजदुर भारतबाट दार्चुला आएका छन् । आइतबारमात्रै लालीबाट बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमका चारजना चार हजार रुपियाँ तिरेर ट्युबबाट महाकाली तर्दै लेकम गाउँपालिका हुँदै गाउँ फर्किएका छन् ।

प्रहरीको सम्पर्कमा नआएर दैनिक सयौँ मानिस भारतको उत्तराखण्डबाट गाउँ फर्किरहेका छन् । उत्तराखण्डमा पनि कोरोना सङ्क्रमण देखापरेको छ । यस्तो अवस्थामा पनि नेपाली नेपाल आउनु जोखिम हुने भन्दै स्थानीयहरू चिन्तित छन् । दार्चुलामा झन्डै एक हजार पाँच सयजना भारतबाट घर फर्किएकोमा २१५ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् ।

सात जनाको रिपोर्ट नेगेटिभ

धनगढी समाचारदाताका अनुसार धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सातजना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमाबुवा, दाजु र दाजुको दुई सन्तानहरूको रिपोर्ट नेगेटिभ आएको हो । दुबईबाट फर्किनुभएका ती व्यक्तिमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि परिवारका बाँकी आठ र सम्पर्कमा आएका दुईजना आफन्त गरी १० जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो । परीक्षण गरिएको परिवारका आठ सदस्यमध्ये सङ्क्रमितको भाउजूलाई कोरोना पोजेटिभ रहेको रिपोर्ट शनिबार नै आइसकेको छ ।

परिवारका बाँकी सातजना सदस्यमा भने कोरोनो सङ्क्रमण नरहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा। जगदीश जोशीले जानकारी दिए ।

उनका अनुसार दुईजना आफन्तको रिपोर्ट भने आउन बाँकी रहेको छ ।
सङ्क्रमित व्यक्ति दुबईबाट भारतको दिल्ली हुँदै चैत ७ गते नेपाल फर्किनुभएको थियो । ११ गते सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना हुनुभएका उहाँको कोरोना पोजेटिभ पुष्टि भएको थ्रोट स्वाब रिपोर्ट चैत १४ गते आएको थियो । दुबईबाट कोरोना सङ्क्रमित भएर आउनुभएका ती व्यक्तिबाट नेपालमा पहिलोपटक कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भएको छ । उहाँबाट कोरोना उहाँको भाउजुलाई सरेको छ ।

बैतडीमा ८५ जनाको खोजी हुँदै

बैतडी समाचारदाताका अनुसार गौरिफन्टा नाकाबाट नेपाल भित्रिएका बैतडीका ८५ जनाको खोजीकार्य भइरहेको छ ।

प्रहरी सुरक्षाबीच ११ गते बैतडी ल्याइएका ८५ जनालाई स्थानीय तहको जिम्मा लगाइएको थियो । तीमध्ये दशरथ चन्द नगरपालिकामा १२ जना, सिगास गाउँपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा २३ जना, सुर्नया गाउँपालिकामा ३२ जना, पाटन नगरपालिकामा पाँचजना र मेलौली नगरपालिकामा दुईजना रहेको प्रहरीले जानकारी दिएको छ ।

तर, प्रहरीले दिएको नाम लिस्टअनुसार सुर्नयामा ३२ जना आएको भनिए पनि गौरिफन्टा नाकाबाट जम्मा तीनजना मात्र आएको स्वास्थ्य संयोजक रामसिंह महराले बताउनुभयो । अन्य कता गए भन्ने कुरा खोजी भइरहेको महराले बताउनुभयो । ८५ जनाको खोजी गरेर ती सबैको स्वाब सङ्कलन गर्ने किट नै नभएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय जम्मा पाँचवटा किटमात्र रहेका छन् । स्वाबको नमुना सङ्कलन गर्ने किट आपूर्ति गर्न प्रदेश सरकारसँग कुराकानी भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

गन्यापधुरामा आवागमनमा रोक

डडेल्धुरा समाचारदाताका अनुसार सुदूरपश्चिममा नेपालकै सबैभन्दा बढी कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको पुष्टि भएपछि यस क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
यससँगै डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले एक गाउँबाट अर्को गाउँमा जान पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । गन्यापधुरा गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिकाका हरेक गाउँ सिल गर्नुका साथै भारतबाट घर फर्किएकाहरूको उच्च निगरानी गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । यस्तैगरेर, परशुराम नगरपालिका–७ का अध्यक्ष केशव बोहराका अनुसार परशुरामको कौवानीदेखि भागेश्वर गाउँपालिकाको गैरीबगडसम्म एक दर्जनभन्दा बढी स्थानमा ट्युबको प्रयोग गरेर भारतबाट नेपाली आइरहेका छन् । पछिल्लो समय ती ठाउँमा प्रहरीले निगरानी गर्न थालेको छ ।

सबैको स्वाब परीक्षणको माग

डोटी समाचारदाताका अनुसार डोटीमा भारतबाट फर्किएका र स्थानीय तहहरूका क्वारेन्टाइनमा राखिएका सबै व्यक्तिहरूको कोराना सङ्क्रमण भए नभएको एकिन गर्नका लागि अनिवार्य रूपमा स्वाब परीक्षण हुनुपर्ने माग उठ्न थालेकोे छ ।

चैत ११ गते भारतबाट आएकाहरू धनगढीको त्रिनगर नाकामा डोटीका २२४ जना पनि रोकिएका थिए । सोहीमध्येका कैलालीमा एकजनामा कोराना सङ्क्रमण भेटिएको छ । त्यसैले पनि स्वाब परीक्षण हुनुपर्ने माग उठेको हो, डोटी जिल्लाका विभिन्न २४ स्थानका क्वारेन्टाइनमा ३९४ जनालाई राखिएको छ ।

एउटै वडामा ३० क्विन्टल नुन बिक्री

अछाम समाचारदाता अनुसार लकडाउनले समस्यामा परेको भन्दै अछामको रामारोशन गाउँपालिका–५ को रामारोशनमा आयोडिन नुन वितरण गरिएको छ । सो गाउँका एक हजार दुई सय घरधुरीमा एकै दिन तीस क्वीन्टल आयोडिनयुक्त नुन वितरण भएको छ । गाउँपालिकाले ढुवानीमा सहयोग गरेर स्थानीयलाई प्रतिपोका १० रुपियाँ मूल्यमा नुन उपलब्ध गराएको हो ।
आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित