कोरोनाभाइरसः सुदूरपश्चिममा 'स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने' चेतावनी

far western

सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ सङ्क्रमणका चारवटा घटना देखिएपछि तत्काल उच्चस्तरको निगरानी र ठूलो परिणाममा परीक्षण नगरिए 'स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने' जनस्वास्थ्य विज्ञले चेतावनी दिएका छन्।

केही दिनअघि त्यहाँ विदेशबाट आएका सङ्क्रमित व्यक्तिबाट उनको आफन्तमा पनि कोरोनाभाइरस सरेको पाइएको थियो।

उक्त प्रदेशमा पर्ने नौवटा जिल्लामा सबै तहका गरी लगभग तीन हजार स्वास्थ्यकर्मी रहेको र त्यहाँ पर्याप्त स्वास्थ्य पूर्वाधार र संरचना नभएको अधिकारीहरू बताउँछन्।

यस्तोमा सङ्घीय सरकारले सक्रियतापूर्वक निगरानी रसम्भावित व्यक्तिहरूको परीक्षणमा ध्यान नदिए उक्त प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण 'डढेलोको तहमा फैलन सक्ने' सुदुरपश्चिमका स्वास्थ्य निर्देशकले बीबीसी नेपालीलाई बताए।

चारवटा सङ्क्रमण देखिएपछि सङ्घले कैलाली र कञ्चनपुरलाई लक्षित गरी करिब ३०० द्रुत परीक्षण कीटसहित चारजना प्रावधिक खटाएको र उनीहरू सोमवार साँझ त्यहाँ पुगेका छन्।

चेतावनी

इपिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले सावधानी नअपनाइए सुदूरपश्चिम प्रदेश नेपालमा कोरोनाभाइरस सङ्क्रमणको केन्द्र बिन्दु बन्न सक्ने जोखिम देखिएको  बताए।

उनले भने, "ब्रिटिशकालदेखि नै सुदूरपश्चिमका मानिसहरू भारतमा जाने गरेका छन् । मुम्बईदेखि कालापाहाडसम्म त्यहाँका मान्छे मजदुरी गर्छन् र ठूलो सङ्ख्यामा ती मानिसहरू भारतबाट नेपाल फर्किएका छन्। त्यस क्षेत्रमा पहाडतिर कतै कोरोनाभाइरसको परीक्षण नै गरिएको छैन र मेरो विचारमा त्यहाँ अन्यत्र भन्दा बढी जोखिम छ।"

उनले गाउँ गाउँमा स्वास्थ्यकर्मीहरूले 'प्रहरीले निगरानी गरेको शैलीमा' ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका व्यक्ति खोज्नुपर्ने र व्यापकस्तरमा जाँच गर्नुपर्ने जनाए।

उनले थपे, "सुदूरपश्चिमका अधिकांश ठाउँमा नाम मात्रैका अस्पताल छन्। धेरैजसो स्थानमा ठूला अस्पताल पनि छैन। त्यही भएर १०-१५ दिनका लागि त्यहाँका जिल्ला जिल्लामा प्राविधिक टोलीहरू खटाउनुपर्छ र तीव्र गतिमा नमुना सङ्कलन गरी राजधानी वा धनगढीमा जाँच गर्ने व्यवस्था मिलाउनुपर्छ। अहिलेको संयन्त्रले एकदमै सुस्त गतिले काम गरिरहेको छ। हाम्रो नेतृत्वले त्यति गम्भीरतापूर्वक नलिएको र मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहमा रहेका विभिन्न निकायले एक अर्कालाई हेरिरहेकाले सबैतिर अन्योल भएको देखिन्छ।"

भारतबाट आएका एक व्यक्तिका आफन्तमा कोरोना भाइरसको सङ्क्रमण सरेपछि दुई दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले द्रुत परीक्षण प्रणालीमार्फत्‌ कैलाली र कन्चनपुर जिल्लामा क्वारन्टीनमा रहेका सबैको परीक्षण गर्ने निर्णय गरेको थियो।

त्यसका लागि सोमवार सङ्घबाट चीनबाट ल्याइएका कीटसहित प्राविधिकहरू कैलालीका लागि प्रस्थान गरेको अधिकारीहरू बताउँछन्।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रयोगशाला र परीक्षणको दायारा विस्तार गर्न आफूहरू लागिपरेको बताउँछन्।

उनले भने, "हामी कहाँ भएको उपकरणले दिनको १० वटा मात्रै परीक्षण गर्न सक्ने रहेछ। त्यस्तै अर्को उपकरण त्रिपुरेश्वरबाट किनेर ल्याउन लागेका छौँ। काठमाण्डूबाट किटसहित आएका प्राविधिक जनशक्तिसँग थप छलफल गरेर हामी साँझै वा भोलिबाट थप परीक्षणहरू थाल्नेछौँ।"

आगोको झिल्का

कतिपय विज्ञले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता नपाएका ती कीटबाट गरिने जाँचको गुणस्तरबारे प्रश्न उठाइरहँदा उनले दोस्रो चरणको सङ्क्रमण देखिएकाले राज्यको 'सम्पूर्ण शक्ति' सुदूरपश्चिम प्रदेशमा केन्द्रित हुनुपर्ने बताए।

स्वास्थ्य निर्देशक अवस्थी भन्छन्, "आगोको झिल्का पनि सल्किसक्यो। ठूलो डढेलो लाग्न नदिन नै हाम्रो शक्ति केन्द्रित हुनुपर्छ। कोरोना भाइरसको सङ्क्रमण भारतमा देखिए यता सुदूरपश्चिम प्रदेशमा कति मानिसहरू प्रवेश गरे भन्ने एकिन तथ्याङ्क छैन। त्यही भएर लक्षण देखिएका मानिसहरू खोज्न हामीले सबैप् रयासहरू अघि बढाइरहेका छौँ।"

सुदूरपश्चिम प्रदेशमा २,३०० भन्दा बढी व्यक्ति क्वारन्टीनमा राखिएका छन् जसमध्ये कञ्चनपुर र कैलाली जिल्लामा मात्रै लगभग छ सयजना क्वारन्टीनमा बसिरहेको स्थानीय अधिकारीहरू बताउँछन्।

आइतवार साँझसम्म १६९ परीक्षण गरिएकोमा चार जनामा सङ्क्रमण देखिएको र सात जनालाई एक्ल्याएर उपचार गरि राखिएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

फाल्गुन २३ गतेदेखि चैत ८ गतेसम्म वैधानिक रूपमा विभिन्न नाकाबाट ज्वरोको नाप गराएर आएका झण्डै एक लाख ४३ जनाभन्दा बढीको अभिलेख रहेको त्यहाँका अधिकारीहरू बताउँछन्।

तथ्याङ्कको अभाव

प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भन्छन्, "छलेर आउने, लुकीछिपी आउने, नदीमा पौडी खेलेर आउनेहरूको लगत हामीसँग छैन। तर पनि हामीले स्थानीय जनप्रतिनिधिहरूलाई भारतबाट फर्किएका सबैलाई क्वारन्टीनमा राख्नूस् भनेका छौँ।"

उनले थपे, "हाम्रो प्रदेशमा त्यसरी जाँच गर्ने पर्याप् तसामग्री पनि छैनन्। भर्खरै जडान भएको उपकरणले पनि धेरै जाँच्न सक्दैन। हामीले सङ्घीय सरकारलाई थप सहयोग गर्नुपर्‍यो भनेर अनुरोध गरेका छौँ र कैलालीमा क्वारन्टीनमा रहेका सबै व्यक्तिको परीक्षण गर्ने निर्णय गरेकाले हामीलाई खुशी लागेको छ। हेरौँ कहिलेदेखि त्यसलाई कार्यान्वयन गर्न सकिन्छ।"

सुदूरपश्चिम प्रदेशमा १२ वटा अस्पताल र १६ वटा प्राथमिक उपचार केन्द्र रहेको अधिकारीहरू बताउँछन्।

अधिकांश प्राथमिक उपचार केन्द्रमा हाल चिकित्सक नरहेको स्वास्थ्य अधिकारीहरू स्वीकार्छन्। उक्त प्रदेशमा छ हजार जनाभन्दा बढी महिला स्वयंसेविका कार्यरत छन्।

शुक्रवार सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य जनशक्तिको अभाव हुननदिने र निजी क्षेत्रमा कार्यरत चिकित्सकहरूले सरकारी अस्पतालमा काम गर्नचाहे सम्बन्धित पद मिलान गरी त्यसै अनुरूपको सुविधा दिइने बताएका थिए। - बीबीसी 

 

प्रतिक्रिया

सम्बन्धित