फुटवेयर क्षेत्र कोरोना भाईरसको चपेटामा, ५० अर्ब लगानीको क्षेत्र धरासायी

footware_manufacturing
काठमाडौं ।
स्वदेशी बजारको माग ६० प्रतिसतसम्म धानेको जुत्ताचप्पल उद्योग कोरोना भाइरस संक्रमणको असरले धरासायी अबस्थामा पुगेको छ । जुत्ताचप्पल उद्योगीहरुको छाता संगठन फुटवेयर मेनुफेक्चरर्स एसोसिएसन अफ नेपालका अनुसार अहिले देशभर १ हजार ५ सयभन्दा बढी उद्योगले जुत्ताचप्पल उत्पादन गर्दे आएका छन् ।  एसोसिएसनका अनुसार कोरोनाको संक्रमणका कारण भइरहेको लकडाउनले दैनिक झण्डै ७ करोडदेखि १० करोडसम्म क्षति भइरहेको छ । यस उद्योगमा प्रत्यक्ष रुपमा ५० हजारभन्दा बढि व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । कारोना संक्रमणका कारण जुत्ताचप्पल उद्योग बन्द हुँदा ती श्रमिकहरु समस्यामा छन् । उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ ।

संघका अनुसार जुत्ताचप्पल उद्योगहरुमा ५० अर्बभन्दा बढि लगानी छ । कच्चा पदार्थ आपूर्तीकर्ता, स्टकिस्ट, डिलर, रिटेल लगायतको क्षेत्र समेत हेर्ने हो भने यस क्षेत्रमा अर्बौंको लगानी छ । अधिकांश उद्योग बैंक तथा वित्तिय संस्थाबाट ऋण लिई संचालन भएका छन् । लामो समयसम्म उद्योग वन्द हुँदा उद्योगले वैंक व्याज तिर्न सक्ने अवस्था रहदैन । जुत्ता चप्पललाई आवश्यक पर्ने कच्चा पदार्थमध्ये ३० प्रतिशतमात्र स्वदेशी प्रयोग हुन्छ । एउटा जुत्ता उत्पादन गर्न धेरै प्रकारका कच्चा पदार्थ चाहिन भएकाले स्वदेशी कच्चा पदार्थले एक प्रतिशत पनि जुत्ताचप्पल उत्पादन हुँदैन । धेरै जसो कच्चा पदार्थ चीन र भारतबाट आयात हुने गर्छ । चीनबाट आयात हुने कच्चा पदार्थ चिनियाँ नयाँ वर्षको लामो विदाका कारण डिसेम्वर दोश्रो सातादेखि आयात हुन सकेको छैन । त्यसपछि कोरोना भाइरसको प्रकोपले कच्चा पदार्थ आउन नसक्दा कतिपय उद्योगहरु एक महिना अगाडीदेखि नै वन्दहुने अवस्थामा पुगेका थिए ।

तत्काल महामारी नियन्त्रणमा आए पनि कच्चा पदार्थ आयात गरेर जुत्ताचप्पल उत्पादन गर्न कम्तीमा ६ महिना लाग्न सक्दछ । स्थिति नियन्त्रण भन्दा जटिल वन्दै गएको वर्तमान अवस्थामा यो अवधि अझै लम्विन सक्ने देखिन्छ । मानवजीवन कष्टकर बनि रहेको अबस्थामा उत्पादित वस्तुले वजार पाउन सहज छैन । वजारमा भएको लगानी उठ्न पनि सम्भव छैन । उत्पादन नगर्दा पनि उद्योग डुव्ने, उत्पादन गर्दा पनि उद्योग नै डुव्ने यो परिस्थितिबाट उद्योगलाई कसरी वचाउने अहिले मुख्य चुनौति बनेको छ ।

जुत्ताचप्पल उद्योगलाई जनशक्तिको अभाव मुख्य समस्या हो । अधिकांश उद्योगहरुमा भारतबाट कामदार ल्याएर काम गराउनु पर्ने वाध्यता छ । अधिकांश कामदार होलीको विदा मनाउन घर गएका छन् । यस्तो परिस्थितिमा वाहिरबाट कामदार ल्याएर काम गराउन सकिने अवस्था छैन । एकातिर कच्चा पदार्थको अभाव छ ,अर्कातर्फ उत्पादित वस्तुको वजारीकरणको समस्या छ भने कामदारको समस्या उस्तै छ ।
विदेशी उत्पादनलाई तीब्र रुपमा प्रतिस्थापन गर्दै बजार विस्तार गर्दै ६० प्रतिशतसम्म बजार कब्जा गरेका जुत्ताचप्पल उद्योगलाई २०७२ सालको विनाशकारी भुकम्प, त्यस लगत्तैको अघोषित नाकावन्दी, भारतीय नोटबन्दी लगायतले ठूलो असर गर्यो । यसरी खुम्चिदै गएको नेपाली जुत्ताचप्पल उद्योगको बजार ४५ प्रतिशतमा सीमित भएको अबस्थामा कोरोना भाइरसको संक्रमणले तहसनहस बनाएको छ ।

विपत्तिले एउटा मात्र क्षेत्रलाई प्रभाव पारेको होइन । यसको प्रभाव सवै क्षेत्रमा परेको छ । सवै मिलेर यसको सामना गर्नु पर्दछ । यो समस्या मात्र होइन, अवसर पनि हुन सक्दछ । परनिर्भर भएर अरुको भरमा बाँच्न खोज्दा मानव जीवनले कति कष्ट भोग्नु पर्दो रहेछ भनेर प्रत्यक्ष अनुभुती अहिले भइरकोे छ । जव स्थिति सामान्य वन्दै जान्छ, मानिसले आफूले भोगेका कष्ट भुल्दै जान्छ । नीति निर्माण गर्ने निकायले भुल्दै जान्छन् । बेलैमा सचेत नहुँदाको परिणाम मुलुकले पटकपटक यस्ता विपत्तिको सामना गरिरहनु पर्छ । यसबाट मुक्त हुन बेलैमा राज्यले सोच्नु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित