बल्दा बल्दैको बम टिपेर फाल्ने प्रहरी हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा

काठमाडौं : आफ्नो ज्यानकोसमेत माया नगरी अज्ञात समूहले प्रहार गरेको बल्दै गरेको बम भुईमा खस्न नपाउँदै च्याप्प समातेर सुरक्षित स्थानमा फाल्न सफल प्रहरी हवल्दार दुर्गाबहादुर राना यतिबेला सबैको जन–जनको मनमा अटेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय, प्रतापकोट, अम्बासस्थित आधारभूत निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा बुधबार अज्ञात समूहले फालेको उक्त बम नेपाल प्रहरीका साहसी हवल्दार रानाले भुईंमा खस्न नपाउँदै जहाँबाट आएको हो त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाएका थिए । साहसी काम गर्ने प्रहरी हबल्दार रानालाई सरकारले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जनार्दन शर्माले रानालाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् । गृहमन्त्री शर्मा र प्रहरीका उच्च अधिकारीले हवल्दार रानालाई टेलिफोन गरेर साहसिक काम गरेकोमा स्याबासी समेत दिएका थिए । आक्रमणकारीले बम हान्नासाथ प्रहरी हवल्दार दुर्गाबहादुर रानाले ज्यानको जोखिम मोलेर फुर्तीका साथ त्यसलाई आफ्नो हत्केलामा थाप्दै सुरक्षित ठाउँमा मिल्काउँदा मतदान परिसरमा कुनै क्षति हुन पाएन । फिल्मी शैलीमा उनले मतदाताको ज्यान जोगाएका हुन् । आगोको मुस्लो बलेको बम भूइँमा खस्न नपाउँदै उनले च्याप्प समातेर सुरक्षित ठाउँमा फ्यालिदिएकाले अप्रिय घटना भएन । आक्रमणलाई उनले निश्क्रिय पारेका हुन् । प्रहरकिा अनुसार साढे ९ बजेतिर मोटरसाइकलमा आएका दुई आक्रमणकारी मतदान केन्द्र रहेको स्कुलको पर्खालबाहिरबाट प्रहरीलाई लक्ष्य गर्दै सुतली बम फ्याँकेका थिए । त्यसरी बम फ्याँकेको देख्नासाथ मतदान केन्द्रमै खटिएका प्रहरी हवल्दार रानाले फुर्तीका साथ त्यसलाई च्याप्प हत्केलामा समाते र मतदान केन्द्रभन्दा ५० मिटरजति पर फालेका थिए । जनताको रक्षा गर्नु नै आफ्नो धर्म भएकाले बम समातेर फालेको बताएका छन् । हवल्दार राना भन्छन्–‘यसो हेरेँ, आगोको मुस्लो बलेको बम देखेँ । बम पड्किएको भए धेरैको ज्यान जाने जोखिम थियो । मलाई तालिममा सिकाइएको थियो, बम कस्तो र कति बेला पड्कन्छ भनेर । सोहीअनुरुप मैले बम छोपेर फालेको हुँ ।’ करिब १६ वर्ष अगाडि प्रहरीमा भर्ना भएका रानाले आउँदो मंसीर महिनामा अवकाश पाउँदैछन् । अवकाशको केही समयअघि मात्र रानाले गरेको उक्त कार्यको यतिबेला प्रसंसा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित