पहाडी जिल्लामा नाम मात्रैका क्वारेन्टाइन

Qurantine
डोटी ।
तराईका स्थानीय तहले बनाएका क्वारेन्टाइन खाली–खाली रहेका बेला पहाडमा भने कोचाकोच छन् । पहाडी जिल्लामा नाम मात्रैका क्वारेन्टाइन बनाइएका छन् ।
डोटीका अधिकांश क्वारेन्टाइन सरकारले तोकेको मापण्दण्डअनुसार छैनन् । उनीहरूलाई घर जानबाट रोकिए पनि एकै सिरकमुनि तीन–चार जना सुतिरहेका छन् । कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी अनिवार्य भनिएका बेला पहाडी जिल्लाका क्वारेन्टाइनमा एकै कोठामा भेडाबाख्रा खाँदेझैं मानिस राखिएका छन् ।

‘क्वारेन्टाइनको बसाइ साह्रै नराम्रो भएकाले जतिसक्दो चाँडो घर पठाउन सरकारलाई आग्रह गर्दछु’, डोटीको आदर्श गाउँपालिकास्थित शारदा मावि क्वारेन्टाइनमा बसेका ओम थापाले भने, ‘बसाइ पूरै अव्यवस्थित छ । खोरमा भेंडा, बाख्रा राखेजस्तै राखिएको छ ।’ उनले चिसोले गर्दा झनै बिरामी भएको बताए ।

डोटीकै शिखर नगरपालिका–४ स्थित पञ्चोदय मावि धुर्कोटको क्वारेन्टाइनमा बसेका छन्, नारायण महरा । बिनाकारण सजाय पाइरहेजस्तो अनुभव भएको उनले बताए । ‘बिनाकारण सजाय भोगेजस्तो भइरहेको छ’, उनले भने, ‘क्वारेन्टाइनमा राम्रो व्यवस्था छैन । एकै सिरकमुनि तीन–चार जना सुत्नुपरेको छ । गोठमा गोरु थुनेको जस्तो गरिएको छ ।’

क्वारेन्टाइन बसेको मंगलबार १४ दिन पुगेको छ । ‘हामी त मंगलबार घर जान पाइने भयो भनेर खुसी भएका थियौं तर प्रदेश सरकारले २१ दिन बस्नुपर्छ भनेपछि तनाव भयो’, सिद्धेश्वर माविमा रहेको क्वारेन्टाइनमा बसेका दीपक बलायरले भने । गहुँ खेती भित्र्याउने बेलामा यसरी बिनाकाम बस्नुपरिरहेको गुनासो उनले गरे ।

गाउँमा कुनै पनि क्वारेन्टाइन सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकाअनुसार सञ्चालनमा छैनन् । भारतबाट आएकाहरूलाई कोरोना संक्रमण नहोस् भनेर कम्तीमा पनि डेढ मिटर दूरी कायम गरी बस्नुपथ्र्यो । तर, एकै सिरक वा कम्बलमुनि तीन–चार जना सुत्नुपरेकाले उनीहरूमा अझ जोखिम देखिएको छ ।

पहाडका अधिकांश क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरी देखिएको छ । संक्रमण रोक्न र समुदायमा फैलिन नदिन राखिएका क्वारेन्टाइनबाटै संक्रमणको खतरा रहेको उनीहरू बताउँछन् । राति झनै चिसो हुने भएकाले अधिकांश क्वारेन्टाइनमा ओढ्ने–ओच्छ्याउने कपडाको कमी छ भने साबुन, पानी, दाउरालगायत पनि समस्या देखिएको उनीहरूले बताएका छन् ।

५३ जनालाई एउटै चर्पी

अछाम सदरमुकाम मंगलसेनस्थित क्वारेन्टाइनमा रहेका ५३ जनाका लागि एउटा मात्रै शौचालय छ । उनीहरू बिहान शौचका लागि लाइन बस्ने गरेका छन् ।

चौरपाटी गाउँपालिका–५ लुग्राकी २२ वर्षीया ममता खड्का ४ महिनाकी गर्भवती हुन् । उनी श्रीमान् महेन्द्र खड्कासँग मंगलसेनको क्वारेन्टाइनमा बसेकी छन् । भारतको पुनाबाट फर्किएका उनीहरू ११ गते गौरीफन्टा नाकाबाट अछाम पुगेका थिए ।

क्वारेन्टाइनमा बसेको मंगलबार १४ दिन पुगेको छ । एउटै कोठामा ५ जना बसेका छन् । पानीको र चर्पीको समस्या रहेको उनले बताइन् । ‘जसोतसो बसेकै छौं’, उनले भनिन्, ‘१४ दिनपछि घर फर्किने आसमा थियौं । फेरि केही दिन क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।’

उनले शौचालय एउटा मात्रै भएकाले समस्या भएको बताइन् । क्वारेन्टाइन निर्देशिकामा बिहान खाजा, दिउँसो खाना, अपराह्न खाजा र राति खाना तोकिएको भए पनि खानाबाहेक नास्ता आफैं किनेर खाने गरेको बताइन् । ‘गर्भवती भएकाले यो माहोलमा बस्न निकै गाह्रो भएको छ’, उनले भनिन् ।

मंगलसेन नगरपालिको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाइन बनाइएको छ । सरकारले लकडाउन घोषणा गरेको दिन चैत ११ गते ५३ जना गौरीफन्टा नाकाबाट अछाम आएका थिए । कैलालीका २१ वर्षीय युवामा कोरोना संक्रमण देखिएपछि ती युवाको समूहमा रहेको भन्दै उनीहरूको स्वाब परीक्षणको रिपोर्टपछि मात्र घर फर्काउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

अन्नपूर्ण पोष्ट दै्निक ।

प्रतिक्रिया

सम्बन्धित