कोरोना नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै राज्यमन्त्री कारवाहीमा

Dawn Harwin Australia
काठमाडौं ।
कोरोना भाईरस नियन्त्रणको प्रतिबन्ध उल्लघंन गरेको भन्दै अस्ट्रेलियाका एक राज्यमन्त्री कारवाहीमा परेका छन् । आफ्नो होलिडे हाउसमा बस्न गएका भन्दै  न्यु साउथ वेल्स राज्यका कलामन्त्री डन हार्विनलाई नियम तोडेको आरोपमा प्रहरीले १ हजार डलर जरिवाना तिराएको हो । न्यु साउथ वेल्स राज्यले भाईरस फैलन नदिन, सबै नागरिकलाई शहरी क्षेत्रबाट ग्रामिण भेगमा यात्रा नगर्न र नबस्न निर्देशन दिइएको थियो तर मन्त्री हार्विन भने नियमको उल्लघंन गर्दै हार्विन सेन्ट्रल कोष्टमा रहेको होलिडे हाउसमा बस्न गएका थिए ।

गत बुधवार मन्त्री हार्विन होलिडे घरमा बसिरहेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको थियो । त्यसपछि बिहिबार उनी पर्लविचबाट सिड्नी फर्किएपछि प्रहरीले जरिवाना तिराएको हो । मन्त्री हार्विनले आफु होलिडे होममा ३ हप्तादेखि बसिरहेको र स्वास्थ्य परिक्षणका लागि मात्र एक चोटी सिड्नी आएको प्रतिक्रिया दिएका छन् । उनले आफु होलिडे होममै बसेर काम गरेको बताएका छन् ।

न्यु साउथ वेल्सका प्रहरी आयुक्त माईक फुलरले कोही पनि कानुनभन्दा माथी नरहेको स्थानिय मिडियालाई बताए । उनले भने -‘जो कोहीले कानुन तोड्ने कार्य गर्छ भने त्यसको अनुसन्धान हुन्छ र कानुन अनुसारको कारवाहीको भागिदार हुनुपर्छ ।’

आफ्नो मन्त्रीको हर्कतलाई न्यु साउथ वेल्सका मुख्यमन्त्री (प्रिमियर)ग्याल्डिस बेरजेकलिनले निकै दुखद भएको बताईन । उनले भनिन् कानुनभन्दा माथी कोही छैन । यो घटनापछि मुख्यमन्त्री ग्याल्डिसमाथी मन्त्री हार्विनलाई बर्खास्त गर्न दवाव परेको छ ।

प्रतिक्रिया

सम्बन्धित