‘लकडाउन’ले रेल सेट हस्तान्तरणमा ढिलाई

Nepal Train
काठमाडौं ।
कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्ने गरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ । रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो । तर, लकडाउनका कारण रेल सेट हस्तान्तरण हुन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।

‘विभाग र रेल निर्माता कम्पनीबीचको सहमतिअनुसार मंगलबारबाट रेल हस्तान्तरण हुने दिन थियो। नेपाललाई हस्तान्तरण गरिने रेल चेन्नाईको उद्योगबाट हिडिसकेको छ’, मिश्रले भने, ‘तर लकडाउनका कारण बिच बाटैमा अड्किएको छ।’

भारतमा चैत १२ गतेदेखि लकडाउन गरिएको छ। यो लकडाउन २१ दिनसम्म रहनेछ। नेपालमा पनि चैत ११ गतेदेखि लकडाउन गरिएको छ। यो लकडाउन २०७७ वैशाख ३ गतेसम्म कायम हुनेछ। सम्भवत लकडाउन सकिएपछि कोंकणले रेल हस्तान्तरण गर्ने नयाँ समय सीमा तोक्नेछ। लकडाउन सकिए पनि तत्कालै नेपाली भूमिमा भने रेल ल्याउन सकिने अवस्था बनिसकेको छैन।

‘रेल गुड्ने ट्र्याक तयारी अवस्थामा छ। तर, रेल हाक्ने ड्राइभर छैन। स्वदेशी प्राविधिक जनशक्तिका लागि दरखास्त आवेदन माग गरेका थियौं। त्यहाँ एउटा पनि आवेदन परेको छैन’, मिश्रले भने, विदेशी कामदारका लागि आवेदन माग गर्नुपर्नेछ।’ विभागले फागुन ९ गते रेल सञ्चालन गर्न तत्कालक आवश्यक पर्ने २६ जना स्वदेशी कर्मचारीका लागि आवेदन माग गरेको थियो।

रेल सञ्चालन गर्ने प्राविधि नभएसम्म नेपालमा रेल ल्याएर राख्ने ठाउँको पनि अभाव छ। ग्यारेजमा राख्न पनि सुरक्षा दिनुपर्छ। रेल सञ्चालन गर्न आवश्यक पूर्व तयारी पूरा नभएसँगै कोंकणकै मातहतमा रेल राखिनेछ। सुरक्षित स्थान र नेपाल भित्र्याउन सहज हुने सीमा आसपासमा रेल राखिनेछ।

अन्नपूर्ण पोष्ट दैनिक ।

प्रतिक्रिया

सम्बन्धित