नयाँवर्षमा सुनसान भक्तपुरका पर्यटकीयस्थल

Nagarkot Hotel

भक्तपुर ।
नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका ७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा गतसाल नयाँवर्ष मनाउन आउनेहरुको भिड थियो । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसंगै सूर्योदयको झुल्को हेर्नेहरुको भिड थियो । रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुँइचोले होटल पाउन पनि मुश्किल हुन्थ्यो । उता भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वदेशी र विदेशी पर्यटकले स्वागत गर्ने गर्दथे । नगरकोटमा नयाँवर्षका लागि एकमहिना अघिदेखि सबै होटलहरु बुक भइसक्थे । तर २०७७ सालको नयाँवर्षलाई स्वागत गर्ने र पहिलो सूर्योदय हेर्न रानीकोटदेखि नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटक कोही भएन ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका संचालक रामसुन्दर बकेँ बताउनुहुन्छ ।

सहज पक्कि सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको बताउदै उहाँले नयाँवर्ष २०७७ को उत्साह उमंग कोरोना भाइरसले खोसेको उहाँ बताउनुहुन्छ । होटल व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने गर्थे तर यसवर्ष सबै शून्य भयोे ।” रानीकोट मै ठूलो रु. १६ करोडको लागतमा होटल संचालनमा ल्याएपनि कोरोनाले पर्यटकको आगमन बन्द भएको र कामदार पनि घर गएकाले अहिले सूर्यविनायकको घर छाडेर रानीकोटको होटल आफ्नो निवास बन्न थालेको उहाँको भनाई छ ।

रानीकोटको छेवैंमा जीप राईडिङ्गसंगै होटल गुण्डु ग्राण्डको संचालनको तयारीमा रहनु भएका अर्का पर्यटन व्यवसायी बिज्ञान राई विश्वमा कोरोना भाईरसको संक्रमण फैलिएपछि पर्यटन व्यवसाय धरापमा परेको बताउनुहुन्छ । पर्यटन व्यवसायीका लागि यसवर्षको नयाँवर्ष निकै खल्लो भएको बताउदै उहाँले कोरोना भाइरससंगको युद्ध जितेर अर्को सालको नयाँवर्षलाई भव्य बनाउने बताउनुभयो ।

यता नगरकोटका होटलको अबस्था पनि उस्तै छ । यहाँका सानादेखि ठूला होटल सबै बन्द छन् । कोभिड–१९ को संक्रमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटलहरु नयाँवर्ष २०७७ मा पहिलो पटक खाली भएको नगरकोट बसपार्कमा रहेको होटल मेरिगोल्डका संचालक गोकुल लामिछाने बताउनुहुन्छ । “मैले होटल क्षेत्रमा काम गरेको २० वर्ष बढी भयो तर यसरी होटल सुनसान भएको पहिलो पटक हो, हरेक नयाँवर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन्थे, सबै होटल भरिन्थे” उहाँ भन्नुहुन्छ “तर आज नयाँ वर्ष आए जस्तो पनि भएन, न हिमालको चम्किलो रौनक, न सूर्योदयको चमकता, सबै ओझेलमा पर्यो ।”
नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले नयाँवर्षमा पर्यटकले खचाखच हुने नगरकोट यसवर्ष रित्ता भएको बताउनुभयो । कोरोना भाइरसका कारण अधिकांश होटलका कामदार घर फर्किएका र होटलहरु बन्द भएको उहाँको भनाई छ । २०७६ को अन्तिम दिनलाई विदाई गर्ने र २०७७ को पहिलो दिनको सूर्योदयलाई स्वागत गर्ने यसवर्ष कोही पर्यटन नहुँदा नयाँवर्ष निकै खल्लो भएको बताउनुभयो । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउनका कारण पनि स्वदेशी पर्यटकहरु यहाँ पर्यटकीयस्थलमा जान नपाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित