कोरोना भाइरसविरुद्ध एडीबीको सहयोग तेब्बर

Asian Development Bank
काठमाडौं ।

एसियाली विकास बैंक (एडीबी) ले कोरोना महामारी प्रभावविरुद्ध यसअघि घोषणा गरेको आर्थिक सहयोगको तीन गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पुर्‍याएको छ ।

मार्च १८ घोषणा गर्दा सहयोग प्याकेज ६।५ अर्ब डलरको थियो । २० अर्ब डलरको आर्थिक सहयोग विकासोन्मुख सदस्य राष्ट्रको अर्थतन्त्रमा उत्पन्न आर्थिक जटिलताको सामना गर्न सघाउने गरी बढाइएको एडीबीले जनाएको छ ।

यससँगै सहयोगअन्तर्गतको रकम छिटोछरितो रूपमा उपलब्ध गराउने गरी मापदण्डसमेत निर्धारण भएको जनाइएको छ । घोषित रकममध्ये २.५ अर्ब डलर सहुलियतपूर्ण र अनुदानका रूपमा उपलब्ध गराइने एडीबी मुख्यालयले उल्लेख गरेको छ ।

कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा विगतमा भइरहेको गरिबी निवारण अर्थिक वृद्धिजस्ता उपलब्धिलाई उल्टाइदिने देखिएको भन्दै एडीबीका अध्यक्ष मासातस्गु आस्कावाले यो प्याकेज छिटोछरितो रूपमा उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन् ।

घोषित सहयोग एडीबीका देशीय संरचनामार्फत त्यहाँका सरकारलाई कोभिड प्रभाव न्यूनीकरण कार्यक्रममा सघाइने उल्लेख छ । प्योकजलाई न्यून आय वर्ग र जोखिममा परेका जनताको जीवनस्तर उकास्न केन्द्रित गरिने एडीबीले जनाएको छ ।

२।५ अर्ब डलरको अनुदान भने तत्काल आवश्यक स्वास्थ्य सामग्री किन्न उपलब्ध हुने र दुई अर्ब डलर निजी क्षेत्रको उत्थानमा केन्द्रित गरिने एडीबीले जनाएको छ ।
गोरखापत्र दैनिक ।

 

प्रतिक्रिया

सम्बन्धित