१४ बालिकाको बलात्कारपछि हत्या गर्ने ५ वर्षपछि पक्राउ

डिएसपीमाथि पनि कारबाहीको माग काठमाडौं चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि पक्राउ परेका छन् । एकपटक पक्राउ परी फरार भएका ति अभियुक्तलाई प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट पक्राउ गरेको हो । रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने श्याम राउतलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । तत्कालीन सैपू गाविस वडा नम्बर १ को सिरिसे कवैटार भन्ने ठाउँबाट ०६८ माघ ५ गते हराएकी सन्तली तामाङको शव १५ दिनपछि लिखु खोलामा झोलाको फित्ताले घाटीमा बाँधेको अवस्थामा फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको थियो । छोरीको हत्याबाट विक्षिप्त बनेकी आमा डिल्लीमायाले जिल्ला प्रहरी कार्यालयमा छिमेकी पोकुका श्याम राउत र प्रदीप राउत विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर, रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेका थिए । त्यसलगत्तै तत्कालीन डीएसपी शर्मालाई विभागीय कारवाही स्वरुप सरुवा गरेको थियो । बलात्कार अभियुक्त छुटेपछि उल्टै उनीहरुले गुण्डा लगेर डिल्लीमायालाई समेत मार्ने धम्की दिएका थिए । हत्याराको धम्कीपछि पीडित परिवार विस्थापित भएर ६ महिनासम्म सिन्धुलीमा बसेका थिए ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मध्य क्षेत्रका डीआइजी गणेश केसीले अभियुक्त राउत भारतमा रहेको सूचनाका आधारमा भारतीय प्रहरीसँगको समान्वयबाट पक्राउ गर्न सफल भएको जानकारी गराए । अभियुक्त राउत पछिल्लो समयमा भारतको अण्डमान एण्ड निकोबार टापुमा एउटा रेष्टुरेन्टमा कार्यरत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मध्यक्षेत्र ब्यूरो, रामेछापका डीएसपी कुमुद ढुंगेल र अपराध महाशाखा सहितको टोलीले भारतबाट पछ्याउँदै राउतलाई भैरहवाबाट नियन्त्रणमा लिएको हो । पत्रकार सम्मेलनमा डीआइजी केसीले राउतलाई असार ११ गते भैहरवाबाट पक्राउ गरिएको बताए । अभियुक्त राउतले प्रारम्भिक वयानका क्रममा सुन्तली तामाङको बलात्कारपछि हत्याको अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ । अरुणोदय माविमा कक्षा ७ मा अध्ययनरत सुन्तलीको हत्यापछि पक्राउ परेका राउतलाई विना कारवाही छाड्ने तत्कालीन डीएसपी सञ्जिव शर्मामाथि पनि थप छानविन हुने डीआइजी केसीले बताए । पत्रकार सम्मेलनमा सुन्तलीका आमा डिल्लीमायाले तत्कालीन डीएसपी शर्माले ‘केटी भेटे जसले पनि गर्छन्’ भन्ने गैरजिम्मेवार जवाफ दिएको आरोप समेत लगाइन् । उनले तत्कालीन डीएसपी शर्मामाथि कारवाही माग समेत गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित