तातोपानीबाट सहजरूपमा आयात र निर्यात गर्ने दुवै पक्षको निर्णय

tatopani

सिन्धुपाल्चोक । नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो निर्णय भएको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा पुग्न नपर्ने बताए । मितेरी पुलपारि चिनियाँ क्षेत्रमा सामान ढुवानी गर्न जाने नेपालीको हेल्थ सटिर्फिकेट अनिवार्य गरिएको छ । सामान ढुवानी गर्न जाने कन्टेनरका चालक, सहचालक र मजदूरले जाङ्मुपोर्टको भन्सार यार्ड प्रवेश गर्नुपूर्व हेल्थ सटिर्फिकेट देखाउनुपर्नेछ ।

‘चिनियाँ पक्षले न्यालमबाट ल्याएका सामान मितेरी पुलपारि भन्सार यार्डमा अनलोड गर्ने र नेपाली कन्टेनरमा लोड गरेर लार्चा्स्थित सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्ने निर्णय भएको छ’, बैठकमा अध्यक्षता गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ढकालले भने ।

चिनियाँ पक्षले मितेरी पुलसँगै जोडिएको भन्सार यार्डमा सामान ल्याएर नेपाली पक्षलाई दिनेछन् । मितेरी पुलपारि भन्सार यार्डमा सामान आएपछि लार्चास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चिनियाँ भन्सारले जानकारी गराउनेछ । पूर्वजानकारीअनुसार सामान डेलिभरी गर्ने व्यवस्था भन्सार कार्यालयले गर्नेछ ।

दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा हेल्थ सटिर्फिकेट देखाउनुपर्नेछ । सीमामा नेपाल–चीन दुवैपट्टि हेल्थ डेस्क स्थापना गरिएका छन् । चीनका तर्फबाट स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीलगायत सातजना सहभागी थिए ।

नेपालतर्फ ढकालसहित सुरक्षा निकाय, अध्यागमन, भन्सार, जिल्ला जनस्वास्थ्य र क्वारेन्टाइनका प्रमुख गरी नौ सदस्य सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित