श्रीलङ्कामा कर्फ्यु आदेश उल्लङ्घन गर्ने २६ हजार व्यक्ति पक्राउ

srilanka

कोलम्बो । कोरोना भाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय नियन्त्रण तथा रोकथामका लागि मार्च २० पछि जारी गरेको निशेधाज्ञा उल्लङ्घन गर्ने २६ हजार व्यक्तिलाई देशभरबाट पक्राउ गरिएको श्रीलङ्काको प्रहरीले मङ्गलबार बताएको छ । प्रहरीले विगत २४ घण्टामा एक हजार ६०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।

सरकारद्वारा जारी निशेधाज्ञालाई उनीहरूले उल्लङ्घन गरेका प्रहरीको दावी छ । प्राप्त जानकारी अनुसार उनीहरूलाई निशेधाज्ञाको समयमा सडकमा अनावश्यक आवतजावत गर्ने, सार्वजनिक स्थानमा भेला हुने र रक्सी मद्यपान सेवन गर्ने, अत्यावश्यक काममा बाहेक रमाइलो वा घुमघामका लागि सडकमा सवारी साधन चलाउने, रेष्टुरेण्ट खुला राख्ने र सडकमा अभद्र तथा उद्दण्ड क्रियाकलाप गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

प्रहरीले उक्त अवधिमा छ हजार ७०० सवारी साधनलाई पनि नियन्त्रणमा लिएको बताइएको छ भने पक्राउ परेका सबै जनालाई आगामी दिनमा स्थानीय अदालतहरूमा पुर्पक्षका लागि पेश गरिने बताइएको छ ।

श्रीलङ्काले मार्च २० देखि जारी गरेको कर्फ्यु आदेश खाद्यान्न तथा अत्यावश्यक सामग्रीको पुनःसञ्चय गर्नका लागि गत हप्ता एक दिन केही घण्टाका लागि खुला गरेको थियो ।

श्रीलङ्कामा मङ्गलबारसम्ममा २१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । यसमध्ये ५९ जना निको भएका छन् । अन्य १४२ जनाले सरकारद्वारा तोकिएको अस्पतालमा उपचार सेवा र निगरानीका लागि राखिएको छ । यहाँ हजारौँ विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिलाई उनीहरूकै घर वा प्रशासनद्वारा स्थानीय स्तरमा निर्माण गरेका क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित