नारायणगढ -मुग्लिन सडकखण्डमा प्रहरीको भ्यान खस्यो, असईसहित चार प्रहरी बेपत्ता
प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका चालकलाई उद्धार गरिएको छ। चालक सकुशल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नंको भ्यान र ना५ख ७८२७ नंको ट्रकलाई पुरेको थियो। भ्यान पुरिएकै अवस्थामा र ट्रक नदीमा खसेको थापाले बताए।
भ्यानसँगै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ बेपत्ता भएको थापाले बताए।
त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ। ट्रकका सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि तनहुँ पठाइएको उनले बताए। पहिरोमुनि नै प्रहरीको भ्यान रहेको र पहिरोले भ्यानसहित प्रहरी पुरेको अनुमान गरिएको थापाले बताए।
रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ । सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो ।सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २।५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो । सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो ।सो ठाउँ र चारकिलोमा ठूला पहिरा खसेका छन्। घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगेका छन्। पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सो सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ । रासस
प्रतिक्रिया