विश्वव्यापी 'लकडाउन' : कतै खुकुलो हुँदै, कतै झन् कडा पारिँदै

lockdwon

कोरोना भाइरसको महामारीका कारण नेपाल लगायत लगभग पूरै विश्व यतिवेला 'लकडाउन'मा छ । हप्तौँ र महिनौँ लामो लकडाउनका कारण यसबीचमा सामाजिक र आर्थिक क्रियाकलाप सुस्त हुन पुगेका छन् । नेपालको अर्थतन्त्रसमेत चौपट हुन पुगेको छ । ११ चैत (०७६) देखि सुरु भएको लकडाउन कम्तीमा १५ वैशाखसम्म जारी रहनेछ । 

विभिन्न मुलुकका राजनेता एवं अर्थविद्हरू अर्थव्यवस्था पुन: सञ्चालन गरी यसलाई कसरी गति प्रदान गर्ने भन्ने रणनीतिको खोजीमा छन् । तर, के कोरोना भाइरसको संक्रमण घट्नुको साटो बढिरहेका वेला यो सम्भव छ ? छ भने कसरी ? 

यसबारे अन्तर्राष्ट्रिय निकाय एवं स्वास्थ्य अधिकारीहरूबीचको मत विभाजित छ । यस सम्बन्धमा अमेरिकी पत्रिका पोलिटिकोमा रेन हिथले कुन–कुन क्षेत्रको कुन–कुन मुलुकमा ‘लकडाउन’को अवस्था कस्तो छ र कहिलेसम्म लकडाउन जारी रहन्छ भन्नेबारेमा एउटा लामो आलेख तयार पारेका छन् । 

उनका अनुसार कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी सहकार्यको प्रस्ताव गरिए पनि अमेरिकाले कोभिड–१९ विरुद्ध विश्वव्यापी सहकार्यको प्रस्तावलाई अस्वीकार गरेको छ ।

तर, अन्य केही देशले भने एक हदसम्म आर्थिक समन्वयको कदम चालेका छन् । जस्तो, युरोपियन युनियन (इयू) ले गैरआवासीय इयू नागरिकका लागि भ्रमण खुला गर्ने तयारी गरिरहेको छ । यसको मतलब के हो भने उनीहरू लकडाउनको अवधिमा पनि आफ्नो कार्यस्थल जान सक्नेछन् ।

केही अमेरिकी राज्यका गभर्नरहरूले पनि ‘आर्थिक बन्दी’ खोल्नका लागि क्षेत्रीय गठबन्धन सुरुवात गर्ने भएका छन् । आर्थिक उल्झनकै कारण युरोपियन युनियन, अमेरिका र १८ देशको अन्तर्राष्ट्रिय फोरम जी– २० ले विकासोन्मुख गरिब मुलुकलाई प्रदान गर्दै आएको ऋण रोक्ने भएका छन् । आगामी १ मेदेखि यो निर्णय लागू हुनेछ ।   

तर, स्पेन, चीनदेखि अमेरिकालगायतका देशहरूले आंशिक रूपमा अर्थव्यवस्था पुनः सञ्चालनमा ल्याउने गरी कदम चालिसकेका छन् । तर, लकडाउनको अन्त्य गरेर सामान्य अवस्थामा फर्कने स्थिति कहिले सिर्जना गर्ने हो, यसबारे उनीहरूबीच अन्योल छ । भारत र जर्मनीले ३ मे देखि लकडाउन अन्त्य गर्ने भएका छन् ।  

त्यसो भए विश्व कसरी कोरोना भाइरसको विस्तारका कारण सुरु गरिएको ‘लकडाउन’बाट उम्किन खोजिरहेको छ त ? 

युरोप
युरोपेली मुलुकहरूले लकडाउनलाई बिस्तारै कम गर्दै गएका छन् । मार्चदेखि लकडाउन सुरु गरेका अधिकांश मुलुकले अहिले लकडाउनलाई बिस्तारै सुस्त पार्दै लगेका छन् ।  

यद्यपि, इयूको कार्यकारी परिषदले भने लकडाउनविपरीतका कदमले संक्रमण अझै फैलिन सक्ने बताउँदै त्यसले अझै धेरै घातक परिणाम सिर्जना गर्ने चेतावनी दिएको छ । इयू युरोपेली मुलुकहरूको सीमामा लकडाउनको स्थिति अझै केही समय कायम राख्नुपर्ने पक्षमा छ ।  

बुधबार (३ वैशाख) मात्रै गैरआवासीय नागरिकका लागि भिसा फ्री क्षेत्रहरू बन्द गर्ने यसअघिको निर्णयलाई कायमै राख्ने घोषणा युरोपेली आयोगले गरेको छ । थुप्रै मुलुकले लाखौँ मानिस घरभित्रै थुनिएर रहन झनै खतरा हुने बताउँदै ‘लकडाउन’ हटाउन आयोगमाथि उत्तिकै दबाब परिरहँदा आयोगले सो निर्णय गरेको हो ।  

युरोपियन युनियनको मापदण्डअनुसार युनियनमा आबद्ध मुलुकले १५ मेसम्म भ्रमणमा रोक लगाउनुपर्छ, एवं लकडाउन गर्नुपर्छ । यद्यपि कुनै मुलुकले त्यसअघि नै कोभिड– १९ को संक्रमणको संख्या घटाउन सक्यो भने युनियनले लकडाउनलाई निस्तेज पार्दै लैजान सक्छ । 

युरोपेली युनियनमा सामेलमध्येको एक मुख्य मुलुक जर्मनीले बुधबार (३ वैशाख) लकडाउनलाई कम गर्दै लैजाने योजना सार्वजनिक गरिसकेको छ । प्रेस सम्मेलनमा चान्सलर एन्जेला मर्केलले २० अप्रिल (८ वैशाख) देखि आठ सय वर्गमिटर क्षेत्रफलका पसलहरू खोल्न दिने बताएकी छिन् । तर, ३ मेसम्म १ दशमलव ५ मिटरको दूरी भने कायम नै राख्नुपर्ने उनले बताएकी छिन् । त्यहाँ मास्क लगाउन अनिवार्य नै भने गरिएको छैन ।  

बेल्जियमले भने ३ मेसम्म लकडाउन कायम नै राख्ने भएको छ । स्वास्थ्यविद्, राजनीतिक नेता र अर्थविद्हरूसहितको एउटा विशेष समितिले हार्डवेयर र बगैँचालगायतका क्षेत्रबाहेकका लागि ३ मेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो ।  

त्यस्तै, चेक रिपब्लिक र अष्ट्रियालगायतका मुलुकले पनि अत्यावश्यकबाहेकका पसलहरू पनि खोल्ने अनुमति दिन थालेका छन् । त्यहाँ मास्क भने अनिवार्य गरिएको छ ।

स्पेनले पनि औद्योगिक र निर्माण क्षेत्रमा काम गर्न खुला गरेको छ । यद्यपि त्यहाँ हिँडेर या साइकलमा यात्रा गर्न आग्रह गरिएको छ । डेनमार्कले पनि केही इन्स्टिच्युट र आधारभूत स्कुलहरू यो हप्ताबाट खोल्न दिने निर्णय गरेको छ । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले ‘लकडाउन’ सुस्त पार्दै लगिने बताइसकेका छन् । 

तर, बेलायतले भने बिहीबार (४ वैशाख) देखि लकडाउन थप विस्तार गरिसकेको छ । फ्रान्सले पनि ११ मेसम्म कडा लकडाउन जारी राख्ने भएको छ ।

त्यस्तै, कोरोना भाइरस संक्रमणको विस्तारबाट आक्रान्त इटालीले पनि आफ्नो लकडाउलाई अझै केही समय कायम राख्ने भएको छ । यद्यपि, त्यहाँ पनि पुस्तकपसल, बच्चाहरूका लागि प्रयोग हुने कपडा पसललगायतका व्यावसायिक क्षेत्रमा लकडाउनलाई सुस्त पारिँदै छ । 

आयरल्यान्ड, हंगेरी र पोल्यान्डमा भने कडा लकडाउन जारी छ । कोभिड– १९ संक्रमितको संख्या बढ्दै गएपछि स्वीडेन पनि सचेत हुन थालेको छ ।

एसिया–प्रशान्त क्षेत्र 
भारतको लकडाउलाई विश्वकै ठूलो लकडाउन मानिएको छ । त्यहाँ ३ मेसम्म लकडाउन जारी रहनेछ । भारतमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन अवधि बढाइएको हो ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका थिए, ‘हामीले आर्थिक रूपमा निकै ठूलो मूल्य चुकाइरहेका छौँ, तर मानिसको जीवन त्योभन्दा ठूलो हो ।’ 

सिंगापुरले पनि लकडाउन जारी राखेको छ । टोकियो, योकोहामा र ओसोकालगायतका सहरमा यसै हप्ता बिहीबार (४ वैशाख) आपतकाल घोषणा गर्दै जापानले पनि देशव्यापी लकडाउनमा कडाइ गरेको छ । चीनको वुहानमा पहिलोपटक कोभिड– १९ फेला परेको थियो । तर, यो सहरको लकडाउन चीनले अघिल्लो हप्ता नै अन्त्य गरिसकेको छ । यद्यपि अन्य क्षेत्रमा न्यून संख्यामा नै भए पनि नयाँ संक्रमण देखिइरहेका छन् । वुहानका पर्यटकीय स्थल लकडाउन अन्त्य भएसँगै भरिभराउ हुन थालेका छन् ।

चिनियाँ भूभाग हङकङमा पनि कोरोना भाइरसबाट संक्रमितको संख्या उल्लेख्य रूपमा कम भइरहेको छ । अहिले त्यहाँ पाँच सयभन्दा कम मात्रै संक्रमणको अवस्थामा छ । यद्यपि मार्चको मध्यदेखि नै त्यहाँ भ्रमणमा रोकका साथै लकडाउन जारी राखिएको छ ।  
 
न्युजिल्यान्ड र अष्ट्रेलियालगायतका देशहरूले भने कडा लकडाउन जारी राखेका छन् । नेपालमा पनि संक्रमितको संख्या बढ्दै गइरहेको छ भने लकडाउन पनि जारी छ ।

अमेरिका
अमेरिकामा स्वास्थ्य संकट र आर्थिक संकटको असरमाथि अध्ययनका लागि दुई कार्यदल गठन गरिएको छ । यद्यपि त्यहाँ परीक्षण र पुन: सञ्चालनका लागि एउटै देशव्यापी योजना भने छैन ।

अमेरिकाको क्यालिफोर्निया राज्यले क्रमिक रूपमा विद्यालय र व्यावसायिक क्षेत्रलाई पुन: सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । त्यस्तै, न्युयोर्कले आफैँ परीक्षण क्षमताको विकास गरेर प्रतिहप्ता ५० हजार परीक्षण सामग्रीको उत्पादन गर्ने र पर्याप्त परीक्षण गर्न थालेसँगै आर्थिक गतिविधिलाई सञ्चालनमा ल्याउने तयारी थालेको छ । न्युयोर्कले अन्य अमेरिकी राज्यहरू न्युजर्सी, डेलावयर, पेन्नसलभेनिया र रोड आइल्यान्डसँग पनि सहकार्य गरिरहेको छ ।

अमेरिका, मेक्सिको र क्यानडाका व्यस्त नाकाहरू भने अहिले पूर्ण रूपमा बन्द अवस्थामा छन् । क्यानाडेली प्रधानमन्त्री जस्टिन टुर्डेले अझै केही हप्ता लकडाउन जारी रहने र क्रमिक रूपमा लकडाउन खोलिने बताएका छन् । कोरोना संक्रमण विस्तारका कारण २५ प्रतिशत बेरोजगारी बढेसँगै ‘लकडाउन’ अन्त्य गर्नुपर्ने दबाब पनि त्यहाँ बढेको छ ।  

अफ्रिका र मध्यपूर्व
अफ्रिकाले मध्यमार्चदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । अनि जारी लकडाउन सोही अवधिसम्म कडाइका साथ जारी राख्नेछ ।  

अफ्रिकाको चर्चित मुलुक नाइजेरियाले २७ अप्रिलसम्म लकडाउन गर्ने भएको छ । मध्यपूर्वका अन्य मुलुकमा पनि ‘सोसल डिस्ट्यान्सिङ’ कडा रूपमा जारी राखिनेछ । 

७३ हजारभन्दा बढी संक्रमित र र झन्डै पाँच हजारको मृत्यु भइसकेको इरानमा भने यो हप्ताबाट एक–अर्को प्रदेशमा भ्रमणको अनुमति दिइने भएको छ । तर, टर्की भने लकडाउनलाई अझ कडाइ गर्दै छ । त्यहाँ करिब ७५ हजार व्यक्ति संक्रमित भएका छन् भने साढे १६ सयले ज्यान गुमाएका छन् । -नयाँपत्रिका

प्रतिक्रिया

सम्बन्धित