कोडेक्सको मनोमानीले इक्यान शैक्षिक मेला एक महिना पछाडि

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को शैक्षिक मेला एक महिना पर धकेलिएको छ । असार ८ देखि ११ गतेसम्मका लागि तय भएको ११ औं इक्यान शैक्षिक मेला आन्तरिक विवादका कारण एक महिन पर धकेलिएको हो ।

 इक्यानले साउन ५ गतेदेखि ८ गतेसम्म मेला आयोजना गर्ने जनाएको छ । आन्तरिक विवादका कारण मेला स्थगित भएपनि इक्यानले भने दोस्रो चरणको निर्वाचनलाई देखाएर मेला सारिएको जनाएको छ ।

 मेला व्यवस्थापन गर्ने जिम्मेवारी पाएको कम्पनी कोडेक्सको गैरजिम्मेवारीपनले गर्दा मेला स्थगित भएको हो ।

 अब भने इक्यान आफैले व्यवस्थापन हेर्ने गरी मेला आयोजना गर्न लागेको छ । इक्यानसँग भएको सहमति अनुसार काम नगरी कोडेक्सले मनोमानी ढंगले मेला आयोजना गर्न खोज्दा इक्यानले रोकेको हो । मेलाका लागि थुप्रै कन्सलटेन्सीहरुले स्टल बुकिङ गरिसकेको अवस्थामा कोडेक्सका कारण मेला सर्दा विदेशबाट आउने कतिपय कलेज र विश्वविद्यालयका प्रतितिधिहरु अन्यौलमा परेका छन् ।

 विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधीहरु ल्याउन हवाइ टिकट काटिसकेको अवस्थामा मेला स्थगन हुनुले सदस्य कन्सलटेन्सीहरु रुष्ट बनेका छन् । कोडेक्सले कन्सलटेन्सीहरुबाट झण्डै एक करोड रकम उठाइसकेको छ । पैसा बुझाइसकेको अवस्थामा यसरी मेला स्थगन हुँदा आफूहरुलाई निकै घाटामा गएको कन्सलटेन्सी सञ्चालकहरु बताउँछन् ।

 कोडेक्सले प्रचारप्रसारका लागि भन्दै मनोमानी ढंगले मिडियामा ४५ लाख रुपैयाँ छुट्याएको थियो भने मेला आयोजनाको विज्ञापन समेत गरिसकेको थियो । ‘कोडेक्स इक्यानसँगको सम्झौता विपरित अगाडि बढ्दा यो समस्या उत्पन्न भएको हो ।’–इक्यान स्रोतले भन्यो । इक्यानमा अहिले झण्डै साढे ३ सय कन्सलटेन्सीहरु सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित