विचलित भइनन् प्रसिद्धि, मनकुमारीको उच्च मनोबल

Prasiddhi-19-850

काठमाडौं । नेपालमा दोस्रो कोरोना संक्रमित हुन्, १९ वर्षीया प्रसिद्धि श्रेष्ठ। अस्पताल बसेको २७ दिनमा कोरोनालाई पराजित गरी उनी शनिबार घर फर्किएकी छन्। शनिबार नै बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल पनि निको भएर डिस्चार्ज भइन्। छैटौं संक्रमित यी वृद्धा अस्पताल बसेको १८ दिनमा संक्रमणबाट मुक्त भएकी हुन्।

किशोरी र वृद्धा दुवै जनाले कोरोनासँगको लडाइँ जित्दा उस्तै सन्देश दिए– उच्च आत्मबल। संक्रमणपछि न प्रसिद्धि विचलित भइन् न त मनकुमारीले आफ्नो आत्मबललाई कमजोर हुन दिइन्। दम र रक्तचापको बिरामीसमेत रहेकी मनकुमारीले कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको अनुभवसमेत सुनाइन्।

man

लक्षण नदेखिँदै अस्पताल गइन् प्रसिद्धि

प्रसिद्धि श्रेष्ठ लक्षण नदेखिँदै अस्पताल पुगिन्। २७ दिन आइसोलेसनमा बसिन्। शनिबार डिस्चार्ज हुँदा ढाडस दिँदै भनिन्, ‘मास्क, पन्जा लगाउनुहोला। ठाउँठाउँमा टाँसिएको सूचना पढ्नुहोला। सावधानी अपनाउनुहोला। अनावश्यक घुमफिर नगर्नुहोला।’

उनी शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट घर फर्किएकी हुन्। ‘उहाँ ९प्रसिद्धि० त्यति धेरै दिन आइसोलेसनमा बस्दा पनि आत्तिनुभएन’, अस्पतालका प्रवक्तासमेत रहेका प्रमुख कन्सल्टेन्ट डा। अनुप बाँस्तोलाले भने, ‘मनोबल उच्च थियो।’

अस्पताल भर्ना भएपछि बिस्तारै लक्षणहरू देखिए। श्वासप्रश्वासमा गाह्रो भयो। पेटमा दुखाइ महसुस भयो। खोकी लाग्न थाल्यो। थकाइ लाग्थ्यो। तापनि उनले हरेस खाइनन्। कोरोनासँग लडिरहिन्।

‘बाहिरी मुलुकबाट आउनुभएको छ भने आफैँ आइसोलेसनमा बसिदिनुहोला’, उनले अनुरोध गरिन्, ‘यसले गर्दा समाजमा कोरोना भाइरस फैलिन पाउँदैन।’ संक्रमितलाई नराम्रो ढंगले कलंकका रूपमा ९स्टिग्मा० प्रस्तुत नगर्न उनले सञ्चारमाध्यमलाई पनि आग्रह गरिन्।

फ्रान्सको एक विश्वविद्यालयमा अध्ययनरत उनी चैत ४ गते कतारको दोहा हुँदैे काठमाडौं आएकी थिइन्। विदेशबाट आएका कारण उनी घरमा अलग्गै बसिन्। कुनै लक्षण देखिएन। उनी घर आएको चौथो दिन सँगै यात्रा गरेकी भियतनामकी साथीले आफू संक्रमित भएको उल्लेख गर्दै फोन गरिन्। ‘साथीलाई कोरोना भाइरस पोजिटिभ देखिएको रहेछ’, उनले भनिन्, ‘जाँच गरिहालौं भनेर म टेकु आएकी थिएँ।’

उनी ९ गते अस्पतालमा जँचाउन जाँदा मास्क र पन्जा लगाएकी थिइन्। अस्पतालमा उनको घाँटी र नाकभित्रको खकार ९स्वाब० परीक्षण गरियो। आइतबार रिपोर्ट आयो। उनी भर्ना भइन्।

घर आएको छैटौं दिन १० चैत सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलन गरी दोस्रो संक्रमणको पुष्टि गरे। मन्त्री ढकालले नै उनलाई डिस्चार्ज हुँदा आफ्नो अनुभव बाँड्न पनि आग्रह गरेको मन्त्रालय स्रोतले बतायो।

उनीभन्दा अघि चीनमा अध्ययनरत एक युवामा माघ ९ गते कोरोना भाइरस पोजिटिभ भेटिएको थियो। ती युवा पनि डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। सबैको स्वास्थ्य सामान्य छ।

घरमा पनि आफैं एकान्तवासमा बसेकाले अभिभावक एवं आफन्त र समाजमा कोरोना फैलिन नपाएको श्रेष्ठले बताइन्। नेपाल टेलिभिजनलाई दिएको पहिलो अन्तर्वार्ता शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत सार्वजनिक गरिँदा उनमा आत्मविश्वास प्रस्ट देखिन्थ्यो।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित