कारवाही माग गर्दै एमालेद्वारा मार्तडी बन्द, कार्यकर्ता नछाडे आन्दोलन गर्ने काँग्रेसको चेतावनी

बाजुरा : स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा नारा जुलुसमा भएको नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको दोषीलाई कारबाही माग गर्दै एमालेले सदरमुकाम मार्तडी बन्द गराएको छ। मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा रावतको हत्या गर्ने काँग्रेस कार्यकर्तालाइ कारबाही गर्नका लागि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझाएको दोस्रो दिन बिहानदेखि नै बजार बन्द गरेको एमाले बाजुराले जनाएको छ। मनोनयन दर्तामा गएका बेला रावतलाई ढुङ्गा हानेर हत्या गरेको भन्दै आज जिल्लाका मार्तडी, कोल्टीलगायतका बजार क्षेत्रमा बन्द गर्दै आन्दोलनका कार्यक्रम गर्ने एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिएको छ। उनले रावतको हत्या गर्नेलाई कारबाही प्रक्रिया नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए। यता नेपाली काँग्रेस बाजुराले पनि मङ्गलबार नै नेपाली काँग्रेसका नेता धनराज पण्डितको नेतृत्वमा एक टोलीले रावतको हत्या नगरेको र आफैँ दमको रोगी भएकाले बेहोस भई मृत्यु भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस जिल्ला सभापति कविराज पण्डितले बताए। रावतको हत्या नभई बेहोसमा मृत्यु भएकाले राजनीतिक प्रश्रय दिएर आन्दोलन गर्नु व्यर्थ भएको पण्डितको भनाइ छ। पण्डितले प्रहरीले पक्राउ गरेका उम्मेदवार नरबहादुर रावत, नेपाली काँग्रेसका नेता पदमबहादुर रावत र देवबहादुर रावतलाई रिहा गर्न माग गरेको बताए। हत्याको आरोपमा पक्राउ परेका तीनैजना रावतलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ। बजार बन्दसँगै आन्दोलन तयारी भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित