चितवनको च्यातिएको मतपत्र किन चाहियो सर्वोच्चलाई ?

काठमाडौं : सर्वोच्च अदालतले भरतपुर महानगरमा च्यातिएका मत पत्र पोको पनि झिकाउन आदेश दिएको छ। बैशाख ३१ गते भएको निर्वाचनको मतगणना गर्ने क्रममा विवाद हुँदा मतपत्र च्यातिएको थियो । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्चले च्यातिएका मतपत्र एक साता भित्र झिकाउने आदेश दिएको हो। कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलाशले मंगलबार त्यस्तो आदेश दिएको हो । बहसमा रिट निवेदकका तर्फबाट दुई जना वकिलले बहस गरेपछि सरकारी वकिलको धारणा लिएर इजलाशले त्यस्तो आदेश दिएको हो । इजलाशले निर्वाचन अधिकृतको कार्यालयको निर्णय पनि झिकाउने आदेश दिएको छ । इजलाशमा रिट निवेदकका तर्फबाट शम्भु थापा, टिकाराम भट्टराई र हरि उप्रेतीले बहस गर्नु भएको थियो भने निर्वाचन आयोगका तर्फबाट हरिहर दाहालले बहस गरेका थिए । सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले पुनमतदान गराउने निर्णय गरेको थियो । यसअघि न्यायधीश चोलेन्द्र शम्सेर राणाको इजलाशले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएमा पुनमतगणना हुनेछ भने राणाको अन्तरिम आदेशलाई खारेज गरेको अवस्थामा पुनमतदान हुनेछ । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । चितवनकै मतदाता अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गरेका थिए । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको थियो । आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ । दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहेका थिए । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए । साथै सर्वोच्चले मत पत्र च्यातिएको विषयमा सुरक्षा निकायले तयार पारेको प्रतिवेदन पनि मगाएको छ। मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो। बाँकी रहेको मतगणना गरेर ९० मतको अन्तर हुन्छ कि हुँदैन त्यसलाई नै आधार मानेर निर्णय गरिएको भए समस्या सजिलै सल्टिनेमा सर्वोच्च अदालत रिट दायर गरेर लम्ब्याइएकोप्रति स्थानिय भने असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित