अवैध नेटवर्किङमा संलग्नलाई संगठित अपराध मुद्दा,गिरोहका नाइके हङकङ र मलेसियामा

काठमाडौं । अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ परेका १४ जनालाई प्रहरीले संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ । क्युनेट नामक कम्पनीमा आबद्ध भएर नेटवर्किङमा लागेकालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगीका साथै संगठित अपराध मुद्दा चलाउन लागेको हो ।

संगठित अपराधमा ५० प्रतिशत थप सजाय हुन्छ भने प्रहरीले तीन महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । सिआइबीले गत २८ जेठमा उक्त कम्पनीमा आबद्ध एक सय दुईजनालाई पक्राउ गरेको थियो । तीमध्ये १४ जना नाइके भएको खुलेपछि प्रहरीले उनीहरूलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको अपराध संगठित भएकाले संगठित अपराध मुद्दामा अदालतबाट म्याद लिइएको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए ।

गैरकानुनी रूपमा तीनभन्दा धेरै व्यक्ति मिलेर गरिने अपराधमा संगठित अपराध मुद्दा चलाउन सकिने प्रावधान छ । तीन वर्ष वा सोभन्दा धेरै कैद सजाय हुने मुद्दामा संगठित अपराध मुद्दा आकर्षित हुन्छ । ठगी मुद्दामा पाँच वर्षसम्म कैद सजाय हुने भएकाले सिआइबीले उनीहरूविरुद्ध संगठित अपराध मुद्दा पनि जोडेको हो ।

बैंकरदेखि डाक्टरसम्म क्युनेटका गोल्ड तथा सिल्भर लेभलमा बसेर काम गर्ने प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, विसन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, समित श्रेष्ठ र प्रमेश मानन्धर हिरासतमा छन् ।

प्रहरी हिरासतमा रहेका सबै प्रतिष्ठित पेसा तथा व्यवसायमा आबद्ध व्यक्ति हुन् । अभियुक्तहरू बैंकरदेखि चिकित्सकसम्म छन् । थुनामा रहेकी सिर्जना सिंह चिकित्सक हुन् । त्यस्तै, क्षितिज पौडेल र सुमित मानन्धर बैंकर हुन् । पौडेल जनता बैंक तथा मानन्धर एनआइसी एसियामा आबद्ध थिए । अधिकांश चार्टर्ड एकाउन्टेन्ट छन् । प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सुमित श्रेष्ठ सिए हुन् । त्यस्तै, विकल्प श्रेष्ठ इन्जिनियर हुन् ।धनाढ्य व्यक्तिहरूलाई नै लक्षित गरी उनीहरूले नेपालमा आफ्नो नेटवर्क विस्तार गरेका थिए । उनीहरूले प्रतिव्यक्ति न्यूनतम सदस्यता शुल्क तीन लाख ५० हजार रुपैयाँ लिने गरेका थिए । त्यसबापत थाइल्यान्डलगायत देशको भ्रमण र अन्य धेरै आकर्षक प्याकेज राखिएको थियो । नयाँ सदस्य थप्दै गएमा निःशुल्क विदेश घुम्न पाइनेलगायतको प्याकेज राखेर उनीहरूले सदस्यता विस्तार गरेका थिए । धेरैले आफन्तलाई नै ठगी गरेका थिए । त्यसकारण धेरै पीडितहरूले उजुरी गरेका छैनन् । पक्राउ परेकामध्ये सुमितको खातामा ५१ हजार अमेरिकन डलर भेटिएको छ ।गिरोहका नाइके हङकङ र मलेसियामा क्युनेटका मुख्य नाइके विजय इसवारन र जोसेफ विस्मार्क हुन् । इसवारन मलेसियामा बस्छन् भने विस्मार्क हङकङमा बस्छन् । हङकङ, मलेसियालगायत देशमा नेटवर्किङ व्यवसाय वैध छ । नेपालमा भने सर्वोच्च अदालतले यसलाई गैरकानुनी ठहर गरिसकेको छ । नेपालका क्युनेटका प्रमुख रितेश श्रेष्ठ भएको खुलेको छ । चार्टर्ड एकान्टेन्ट रहेका उनी फरार छन् । विगतमा गोल्डक्वेस्ट, युनिटी, हर्बोलगायत नेटवर्किङ कम्पनीका नाममा नेपालमा पटक–पटक ठगी भइसकेको छ । सर्वोच्च अदालतले १६ माघ ०६६ मा यस्तो व्यवसायलाई अवैध भएको फैसला गरेको थियो । तर, पछिल्लो समय विभिन्न नाममा उनीहरू सक्रिय हुन थालेको प्रहरी अधिकारीहरू बताउँछन् । क्युनेट गोल्डक्वेस्टकै सञ्चालकहरूले चलाएको कम्पनी हो । -नयाँ पत्रीकामा नवराज मैनालीले खबर लेखेका छन् -

प्रतिक्रिया

सम्बन्धित