ओलीले पराजुलीप्रति प्रश्न उठाउँदा सिफारिस हुन सकेन प्रधानन्यायाधीशको नाम

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन। प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले भावी प्रधानन्यायाधीशका दाबेदार गोपाल पराजुलीको उमेर र शैक्षिक योग्यता विवादबारे अध्ययनका लागि समय आवश्यक रहेको बताएपछि सोमबार प्रधानन्यायाधीश सिफारिस हुन नसकेको हो। गत शुक्रबार पनि प्रतिपक्षी दलका नेताको व्यस्तता भन्दै परिषद बैठक स्थगित गरिएको थियो। स्थगित बैठक आज बिहान १० बजे बोलाइएको थियो। जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि न्यायलयको सर्वोच्च प्रशासन कायम मुकायमको भरमा छ। कायम मुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले गरिरहेका छन्। न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। रोष्टरमा नाम सामेल भएकामध्ये न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले अवकाश पाइसकेका छन्। अब वरिष्ठतम न्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलमध्येबाट प्रधानन्यायाधीश सिफरिस हुनेछ। प्रचलन अनुसार वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ। परम्परा अनुसार सिफारिस भएमा न्यायाधीश पराजुली भावी प्रधानन्यायाधीशमा सिफारिस हुनेछन्। सिफारिस प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। ओलीले प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका कामु प्रधानन्यायाधीश गोपाल पराजुली बारे थप अध्ययन गर्न समय माग गरेपछि बैठक असार १५ गते बस्ने गरी स्थगित भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित