खुशीको कुराः अमेरिकामा ११ दिनमा कोरोना संक्रमण निको हुने औषधी प्रयोगका लागि स्वीकृति

corona_US

अमेरिका । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोना भाइरसबिरुद्धको उपचारका लागि रेम्डिसिभियर नामको औषधी प्रयोगलाई आपतकालिन अनुमति प्रदान गरेको छ । क्लीनिकल अध्ययनको प्रारम्भिक परिणामले यो औषधीको प्रयोगबाट कोरोना भाइरस संक्रमणका बिरामीहरु शीघ्र निको भएको देखाएपछि उक्त एन्टीभाइरल औषधीको प्रयोगका लागि अनुमति दिइएको हो । कोरोनाबिरुद्ध स्पष्ट सकारात्मक परिणाम दिएको यो पहिलो औषधी बनेको छ ।

कोभिड १९ का अस्पतालमा भर्ना गरिएका बिरामीहरुका लागि औषधी उपलब्ध हुने एफडीएका कमिश्नर स्टेफन हानले जानकारी दिएका छन् । नेशनल एन्स्टीच्युट अफ हेल्थको क्लीनिकल परीक्षणबाट उत्साहजनक परिणाम आएको निष्कर्ष निकालिएको दुईदिनपछि एफडीएले औषधीको प्रयोगको अनुमति दिएको हो ।

एफडीएले यसभन्दा अगाडि मलेरियाको औषधी क्लोरोक्वीन र हाइड्रोक्सीक्लोरोक्वीनलाई आपतकालिन रुपमा कोरोनाको उपचारका लागि प्रयोग गर्न स्वीकृति प्रदान गरेको थियो । तर पछि यो औषधीको प्रयोगबाट बिरामीको मुटुको चालको समस्यादेखिएपछि उक्त औषधी प्रयोगबिरुद्ध चेतावनी जारी गरिएको थियो ।

तर रेम्डिसिभियर नामको औषधीको प्रयोगबाट कोरोना संक्रमित बिरामीहरु ११ दिनमा नै निको भएको नेशनल एन्स्टीच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजको अध्ययनबाट पत्ता लागेको छ । यो औषधी प्रयोग नगरेकाहरु १५ दिनमा निको भएपनि यो औषधी प्रयोग गरेकाहरु ११ दिनमा निको भएका छन् ।


कम्तीमा यो औषधीको ५ दिनको डोज प्रयोग गरिएका ५० प्रतिशत बिरामीमा उल्लेख्य सुधार आएको औषधी उत्पादनकर्ता कम्पनलीले रिपोर्ट प्रकाशित गरेको छ । यो औषधीको क्लीनिकल परिक्षण कोरोनाबाट अत्यन्तै सिकिस्त भएका ३९७ बिरामीहरुमा गरिएको थियो ।

यो औषधीको ५ वा १० दिनको डोज तयार पारिने जनाइएको छ । कम्पनीले यो औषधीको उत्पादनका लागि गरिएको अध्ययनमा ५० मिलियन डलर खर्च गरिसकेको छ । कम्पनीले मे महिनाको अन्त्यसम्ममा डेढलाखभन्दा बढी १० दिने डोजका औषधीहरु उत्पादन गर्ने जनाएको छ ।

अहिलेका लागि भने यो औषधी आईभीमार्फत अस्पतालमा भर्ना भएका बिरामीलाई मात्र दिन सकिन्छ । कोरोनाको संक्रमण पुष्टी भइसकेकाहरुलाई मात्र यो औषधी चलाउन अनुमति दिइएको समाचार खसोखासडटकमले प्रकाशित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित