हिमाल र पहाडी भेगका विमानस्थल असुरक्षित,तराईका विमानस्थल सुरक्षित

काठमाडौं  । नेपालको हिमाली तथा पहाडी भेगका साना विमानस्थल असुरक्षित रहेको एक तथ्यांकले देखाएको छ । नेपालको आन्तरिक उडानतर्फ हालसम्म भएका कुल ५० दुर्घटनामध्ये २० वटा दुर्घटना साना विमानस्थलमा भएका छन् ।

 नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो ५६ वर्षको इतिहासमा ५० वटा जहाज (यात्रुबाहक र कार्गो) दुर्घटना भएका छन् ।

 त्यसमध्ये २० दुर्घटना ५ वटा साना विमानस्थलमा भएको छ । पछिल्लो समय लुक्लामा गोमा एयरको जहाज दुर्घटना भएको छ भने हुम्लाको सिमिकोटमा अवतरण गर्न नसकी बाजुरा लागेको सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो । यी दुई दुर्घटनामा पाइलटको निधन भएको थियो । भौगोलिक अवस्थिति, मौसम परिवर्तन र उपयुक्त प्रविधिको अभावले नेपालको हवाई सुरक्षा चुनौतीपूर्ण बन्दै गएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताए ।

 सन् १९६१ मा नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना भएयता नेपाली आकाशमा आन्तरिकतर्फ कुल ८१ दुर्घटना भएका छन् । त्यसमध्ये ३१ वटा हेलिकोप्टर र ५० हवाईजहाज दुर्घटनामा परेका छन् । यी दुर्घटनामा परी ३ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् । ३१ हेलिकोप्टर दुर्घटनामा परी निधन हुनेको संख्या ५९ छ ।

  हवाई दुर्घटनाको दृष्टिकोणबाट तराईका विमानस्थल सबैभन्दा सुरक्षित छन् । नेपालको उडान इतिहासमा तराई क्षेत्रभित्र ४ वटा मात्र दुर्घटना भएका छन्, तर तराईमा एउटा पनि हेलिकोप्टर दुर्घटनामा परेको छैन । प्राधिकरण अधिकारी नेपालमा हवाई सुरक्षाको अवस्था सुधारोन्मुख रहे पनि सन्तोषजनक नभएको स्वीकार गर्छन् । ‘समग्रमा हवाई सुरक्षामा सुधार भइरहेको छ,’ आइतबारदेखि राजधानीमा सुरु एभिएसन सेफ्टी क्याम्पेन उद्घाटन अवसरमा उपमहानिर्देशक पोखरेलले भने, ‘तर, सन्तोषजनक छैन ।’उनका अनुसार सन् २०१० देखि ०१२ को तीनवर्षे अवधिमा नेपालमा ५ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ८९ जनाको ज्यान गएको छ ।  नयाँ पत्रीकामा खबर छ

प्रतिक्रिया

सम्बन्धित