लकडाउनमा फसेका हुम्लाबासीको हवाई मार्गबाट उद्धार

Humla Uddar

काठमाडौँ ।
लकडाउनको कारण विभिन्न ठाउँमा फसेका हम्लाबासीलाई हवाईमार्गबाट उद्धार गरिएको छ । गृह मन्त्रालयको सिफारिसमा पर्यटन मन्त्रालयले मुलुकका विभिन्न शहरमा बन्दाबन्दीका कारण फसेका हुम्लाका नागरिकको हवाईजहाज मार्फत उद्धार गर्न सुरु गरेको हो ।

उनीहरुलाई गाडीबाट नेपालगंज र सुर्खेतसम्म पुर्याएर त्यहाँबाट हवाई सेवाबाट उद्धार गरेर जिल्ला भित्र्याउने निर्णय गरेसँगै शनिबारदेखि उद्धार कार्य सुरु भएको हो ।

काठमाडौं, नेपालन्ज, सुर्खेतलगायतका सहरमा बन्दाबन्दीले सयौँ हुम्ली नागरिक अलपत्र परेका थिए । विद्यार्थी, बालबालिका, महिला, बिरामी र वृद्धवृद्धाको बिचल्ली भएपछि शनिबार निजी कम्पनीका जहाजबाट उद्धार गरिएका नागरिकहरुलाई प्रत्येक स्थानीय तहले आआफ्नै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा राख्ने बताएका छन् ।

सिमकोट विमानस्थलबाटै सिधै गाडीमा खार्पु पुर्याईएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।शनिबार खर्पुनाथ गाउपालिकाका ४९ जना आएका छन् । जहाजबाट सिमकोट पुगेका आफ्ना नागरिकहरुलाई नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाले जिम्मा लिएका छन् ।

नेपालगञ्जमा रहेका ४ सय ९५ र सुर्खेतमा रहेका ४ सय गरी ८ सय ९५ नागरिकलाई शनिबारबाट जहाजमार्फत हम्ला ल्याउन सुरु गरिएपछि नाम्खाका ५६ जना, सिमकोटका २२ जना, खार्पुनाथका ४९ जना र सर्केगाडका ४ जना गरी १ सय ३१ जनालाई सिमकोट पुर्याईएको छ ।

सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका जनप्रतिनिधिहरुको पहलमा बन्दाबन्दीमै निजी हवाई कम्पनीका जहाज सीता, तारा, समिट एयरले शनिबारबाट यात्रु ओसार्न थालेका हुन् ।


त्यस्तै लकडाउनका कारण मुलुकका विभिन्न शहरमा अलपत्र परेका सर्वसाधारणहरुको उद्धार गर्न सुरु गरेसँगै उद्धार गरिएका विद्यार्थी र वृद्धवृद्धाहरुलाई उद्धार गर्दा लाग्ने हवाई भाडामा ५० प्रतिशत छुट दिने कर्णाली प्रदेश सकारले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित