सिमानामा कुटिए फौजी कमाण्डर

Seema-1536x729

लकडाउनको बेला ‘बाहिरी आम्दानी’ ठप्प भएपछि राशन विवादमा कमाण्डर कुटिएका छन् । सिपाहीको राशनमाथि चल्दै आएको अनियमितता नियन्त्रण गरौँ भन्दा रुपन्देहीस्थित सीमा सुरक्षा पोष्ट (बिओपी) सुनौलीका डिएसपी मानबहादुर शाही आफ्नै कमाण्डका इन्स्पेक्टर र सिपाहीबाट कुटिएका हुन् ।

तर, कमाण्डर कुटिँदासम्म कुट्नेहरुमाथि त्यति कडा कारवाही हुन सकेको छैन । लुम्बिनीका नाका नाकामा विगत पाँच वर्षदेखि रम्दै आएका इन्स्पेक्टर केशव भट्टराईले एकजना सिपाहीसँग मिलेर १० दिनअघि डिएसपी शाहीमाथि कार्यालय हाताभित्रै हातपात गरेका हुन् । केही समयअघि मात्रै हलचोकस्थित सशस्त्र मुख्यालयको कार्य ९अपरेशन० विभागबाट सरुवा भएर डिएसपी शाही त्यहाँ पुगेका थिए । लामो समय देशभरिको अपरेशन चलाएर त्यहाँ बसेका शाही युनिट इञ्चार्जका रुपमा हाजिर हुनेबित्तिकै आफैँ टुवाईसीबाट ‘अपरेशन’ मा परे ।

यस्तो कसुर गरिँदा सामान्यतया दोषीउपर विशेष अदालतमा मुद्दा चलाइन्छ र सेवाबाट निलम्बनदेखि हिरासतमा राख्नेसम्मको व्यवस्था छ । तर, ९आइजिपी शैलेन्द्र खनालका गाउँले० दोषी इन्स्पेक्टर भट्टराई र एकजना सिपाही कपिलवस्तुको चन्द्रौटास्थित ५ नं। बाहिनीमा तानिएका छन् । दोषी इन्स्पेक्टर पाल्पाली हुन् भने पीडित डिएसपी शाही बाजुराका बासिन्दा हुन् ।

सशस्त्रमा पहिला सेनामा जस्तो फौजको राशन एकमुष्ठ वितरण गर्ने प्रचलन थियो । तर, कोषराज वन्त आइजिपी भएपछि ९सिभिल० नेपाल पुलिसले झैँ राशनबापतको रकम बुझ्ने परिपाटी लागु भयो । राशनबराबरको तोकिएको रकम बाँडिदा छुट्टीमा जाने कर्मचारीको राशनबापतको रकम हाकिमले लिने प्रचलन हुन्छ । तर, यस्तो नगरौँ र मापसे परीक्षण गर्न अस्पताल जाऊँ भन्दा सुनौलीका डिएसपी कुटिएका हुन् ।
वास्तविकता कस्तो हो भने, यस्ता सीमा अपरेशन पोष्टमा जानका लागि हाकिमदेखि लेखापालसम्मले विभिन्न ठाउँमा पैसा बुझाएका हुन्छन् । अरु बेला सीमामा आयात हुने सामानका ढुवानीकर्ताहरुसँग निश्चित रकम लिने गरिन्छ । अहिले त्यस्तो काम ठप्प भएपछि पैसा असुल्ने एकमात्र माध्यम राशन बन्न पुगेको छ । त्यो मुख पनि डिएसपीले बन्द गर्न खोज्दा उनी कुटिएको बताइन्छ ।

सशस्त्र नेतृत्वले। राशनका यी विसंगति नियन्त्रण गर्न सेनाको जस्तो राशन ढुवानी गर्ने, अलग्गै रकम नदिने नीति अख्तियारी गर्न अर्थ मन्त्रालयमा कुरा राखेको थियो । तर, फौजी संगठनले फौजी प्रक्रियाबाट आउनुपर्ने भन्दै त्यस्तो व्यवस्था गर्न आलटाल हुँदै आएको छ ।

नेपाल प्रहरीले भने तलब र राशनको रकम सम्बन्धित कर्मचारीको बैंक खातामा जम्मा गर्ने प्रचलन शुरु गरेको छ । र, अडिट गर्ने क्रममा कुनै कर्मचारीको बैंक खातामा रकम गए, नगएको रुजु गरिन्छ । यदि,खातामा रकम नगएमा सम्बन्धित युनिटका कमाण्डर र लेखापाल कारवाहीको भागिदार हुन्छन् ।

(जनआस्था साप्ताहीकबाट)

प्रतिक्रिया

सम्बन्धित