बढुवा भएका एसएसपी र एसपीलाई दर्ज्यानी चिन्ह प्रदान

spsspbadhuwa

काठमाडौं ।
बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई आज (आइतबार) दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालय, मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार १९ जना एसपीबाट एसएसपीमा र गृह मन्त्रालय, सचिवस्तरको वैशाख १८ गतेको निर्णयअनुसार २४ प्रहरी नायब उपरीक्षक एसपीमा बढुवा भएका सबै प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतिपश्चात् प्राप्त गर्ने जिम्मेवारी एवम् सङ्गठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उत्कृष्ट काम गर्न निर्देशन दिए।

समारोहमा प्रहरी महानिरीक्षक ज्ञवालीले बढुवासँगै प्रहरी अधिकृत थप रचनात्मक भई निष्ठा र पदीय आचरण पालन गरी राज्यले सुम्पेको दायित्व र भूमिका निर्वाह गर्न आग्रह गर्दै राष्ट्रप्रतिको जिम्मेवारी कति छ सोचेर आफैँ उदाहरणका रुपमा प्रस्तुत भई जिम्मेवारी पूरा गर्न दृढता र बफादारिता प्रदर्शन गर्दै उच्च मनोबलका साथ नागरिकको सेवामा लाग्न निर्देशन समेत दिए।

प्रहरी संगठनलाई एकात्मकबाट प्रदेशस्तरमा समायोजन गर्ने चुनौती हाल नेपाल प्रहरी सामु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुले यस सम्बन्धमा कार्यक्षेत्रमा देखिएका समस्या र चुनौतिबारे संगठनलाई सुझाव दिएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को कारण सिर्जना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएको प्रहरी संगठनका कार्यको उच्च प्रशंसा भएको उल्लेख गर्दै महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीहरुले थप संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित