राहत वितरण गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप

Siraha_Muncipality-
सिरहा ।
राहत वितरण गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा  झडप  हुँदा सिरहा नगरपालिका– ७ फूलबडियामा चार जना घाइते भएका हुन् ।

मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरिएको छ भने चार जना स्थानीयवासी सामान्य घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको बताइएको छ ।

वडाध्यक्ष यादवले भने कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताए । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित