युवतीसँगको लफडाबाट जोगिन एसपीले पत्रकारलाई फसाए,घटना नाटकीय र योजनाबद्ध

कञ्चनपुर । कञ्चनपुरका प्रहरी प्रमुख  (एसपी) प्रकाश चन्दको निर्देशनमा पत्रकार खेम भण्डारीलाई शनिबार प्रहरीले हिरासतमा राखेको छ । भण्डारीलाई पक्राउ गरेको केहीबेरमै पत्रकार गणेश भट्टलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

 घटना निकै नाटकीय र योजनाबद्ध देखिएको स्थानीय संचारकर्मीहरु बताउँछन् । पत्रकार भण्डारी र भट्ट पक्राउको मुख्य कारण शनिबार प्रहरीले हिरासतमा लिएका २ युवतीको पक्राउ प्रकरणसँग जोडिएको छ । कञ्चनपुर प्रहरीले गत शनिबार साँझ ८ बजेतिर महेन्द्रनगरस्थित बसपार्कमा होटल सञ्चालन गरिरहेका दुई युवतीलाई फिल्मी शैलीमा पक्राउ गरेको थियो ।

 बसपार्कमा ‘स्टाफ होटल’ नामले व्यवसाय गरिरहेका पूजा नाथ र कञ्चन नाथलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको थियो । कञ्चन विद्या मन्दिर नजिक डेरा गरी बस्ने ती दुई युवतीलाई होटल बन्द गरेर डेरातर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको थियो । तर, उनीहरुलाई पक्राउ गरेको विषयमा प्रहरीले आफूलाई थाहा नभएको बताउँदै आएको थियो । वडा प्रहरी कार्यालयले जिल्लालाई देखाउँदै आएको थियो भने जिल्ला प्रहरीले वडा प्रहरीतिर पन्छाउँदै आएको थियो । युवतीहरु गिरफ्तार भएलगत्तै सोधपुछ तथा खोजतलास गरेका कानुन व्यवसायी विनोद भट्टले जिल्ला प्रहरी प्रमुख प्रकाश चन्दलाई फोन गर्दा उनले आफूलाई जानकारी नभएको र बुझेर तत्काल फोन गर्ने बताएका थिए । तर, त्यसलगतै एसपीले मोबाइल स्वीच अफ गरेका थिए

 । वडा प्रहरी कार्यालयका सई बीरबहादुर ऐरले सशस्त्र प्रहरी गुल्मले ती युवती र युवकलाई पक्राउ गरेको जबाफ दिएका थिए । तर, युवतीहरुलाई नाटकीय रुपमा नेपाल प्रहरीले नै पक्राउ गरेको खुलासा पत्रकार भण्डारी र भट्टले आफू कार्यरत मानसखण्ड दैनिकमा गरेका थिए । त्यसपछि मात्र प्रहरीले युवतीहरु आफ्नै हिरासतमा रहेको स्वीकारेको थियो । पूजा तथा कञ्चनका निकट व्यक्तिहरुलाई उल्लेख गर्दै मानसखण्डले लेखेको थियो – ‘एसपी चन्दले शनिबार दिउँसो दुबै युवतीलाई खाजा खान बोलाएका थिए तर ती दुबै गएका थिएनन् । यसअघि लगातार तीन दिन दुबै युवतीलाई केही घण्टा हिरासतमा राखेर छोडिएको समेत पूजा र कञ्चनका निकटम् व्यक्तिले दावी गरेका छन् । पूजा र कञ्चन निकट ती व्यक्तिका अनुसार एसपी चन्दले बाराम्बार फोन गरेर उनीहरुलाई कहिल्यै खाजा त कहिल्यै खानाका लागि निम्त्याउने गर्थे ।

 पूजा र कञ्चनले एसपी चन्दको ‘आग्रह’ अस्वीकार गरिरहेपछि उनलाई जिल्ला प्रहरी कार्यालय झिकाएर छोड्ने गरिएको ती व्यक्तिको भनाई छ ।’पत्रकार भण्डारी र भट्टलाई युवतीहरुको चरित्रहत्या गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । युवतीहरुका बाबु खेमराज नाथको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।  नेपाल पत्रकार महासंघ कञ्चनपुरका निवर्तमान अध्यक्ष लक्ष्मण तिवारीका अनुसार, घटना निकै रहस्यमय देखिएको छ ।

 युवतीहरुको नाटकीय रुपमा गरिएको गिरफ्तारी र एसपीको नियतका विषयमा पत्रकार भण्डारी र भट्टले लगातार समाचार लेखेकै कारण तारो बनाइएको तिवारीले बताए । घटनामा युवतीका बाबु खेमराज नाथलाई समेत एसपी चन्दले जबर्जस्ती पत्रकारविरुद्ध उजुरी दिन लगाएको देखिएको छ ।‘खेम भण्डारी र गणेश भट्टले लगातार पीडितहरुकै पक्षमा वकालत गर्दै आउनुभएको थियो ।

 जबकी उनीहरुलाई युवतीकै बाबुको उजुरीको हबला दिँदै पक्राउ गरियो । यो सरसर्ती षडयन्त्र र योजनाबद्ध देखिन्छ ।’, पत्रकार तिवारीले भने -‘पक्राउ परेका छोरीहरुको मुद्दा कमजोर बनाएर रिहा गरिदिने आश्वासनमा एसपी चन्दले उनका बाबुलाई उजुरी दिन बाध्य बनाइएको जानकारी हामीलाई आएको छ ।’ बिभिन्न लफडामा फस्दै आएका एसपी चन्द करिब ४ महिना अघिमात्रै कञ्चनपुरको एसपी बनेर गएका थिए ।पत्रकार तिवारीका अनुसार, पत्रकारहरुका विरुद्धमा असार १ गते उजुरी परेको भनिए पनि उनीहरुलाई शनिबार पारेर पक्राउ गर्नुले एसपी चन्दको नियतमा शंका गर्ने ठाउँ झन धेरै देखिएको छ ।

 कार्यालय खुल्ने दिन पक्राउ गर्दा बन्दी प्रत्यक्षीकरणको रिट हालेर रिहा हुनसक्ने भएकाले दुःखै दिने नियतले भण्डारी र भट्टलाई प्रहरीले पक्राउ गरेको उनले बताए । पत्रकार भण्डारीलाई दिउँसो १ बजे मानसखण्डको कार्यालयबाटै पक्राउ गरिएको थियो भने कार्यकारी सम्पादक भट्टलाई महेन्द्रनगरको ओपेरा होटल नजिकबाट पक्राउ गरेको देखिएको छ । कञ्चनपुरका पत्रकारहरुले भण्डारी र भट्टलाई तत्काल रिहा नगरे जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका छन् । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित