२ पत्रकारमा संक्रमण देखिएपछि वीरगन्जमा १०४ पत्रकारको स्वाब संकलन

 

birjung_patrakar

वीरगन्ज । दुईजना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमीत भेटिएका थिए । ती मध्ये वीरगन्जका २ पत्रकार पनि छन् ।  दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको छ । 

सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका थप पत्रकार आतंकित भएका छन्। वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् । 

बुधबार पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमीत दुई पत्रकारको परिवारका सदस्यको स्वाब पनि संकलन गरिएको उनले बताए । बुधबार संकलन गरिएका स्वाब रिपोर्ट सम्भवत शुक्रबारसम्म आउने सम्भावना रहेको पनि उनले बताए । 

मङगलबार संक्रमण पुष्टि भएका २ पत्रकार गत आइतबार वीरगन्जका पत्रकार तिवारी यादवसँग प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाइमा लगातार ३ दिनसम्म भएको आन्दोलनमा सहभागी थिए ।
 
प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा महासंघको अगुवाइमा गत आइतबार चार दर्जन भन्दा बढी पत्रकार जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए । सोमबार र मङगलबार पनि घण्टाघर चोकमा पत्रकारले धर्नासहितको प्रदर्शन गरेका थिए । मङगलबार नै पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पत्रकारले प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र पनि बुझाएका थिए । 

आइतबारदेखि मङगलबारसम्म भएको प्रदर्शन र धर्नासहितको आन्दोलनमा संक्रमीत दुवैजना पत्रकारसँगसँगै अरु पत्रकार सहभागी भएकाले अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । -अन्नपूर्ण पाेस्ट्

 

 

 

प्रतिक्रिया

सम्बन्धित