कानुन विपरित कक्षा थपेर अध्ययन गराउँदै पिनाकल एकेडेमी

यदुनाथ बञ्जारा पोखरा । नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र शिक्षा, स्वास्थ्य र सुरक्षामा राज्यको निगरानी हुन सकेन भने कानूनी राज्यको कुनै अर्थ र औचित्य हुदैन भन्ने एक वरिष्ठ समाजशास्त्रीका यि वाक्यहरुले तितो सत्य ओकलेको छ । जुन कुराको महत्व बढि रहन्छ, त्यहि चिजमा तस्करी बढी हुने र कानून मिचेर कमाउ धन्दा गर्ने परिपाटी नै बसेको छ नेपालमा ।खास गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र बढी हावी भएपछि विकृति पनि सँगसँगै भित्रिएको छ । नागरिकको उपचार गर्ने भनेर खुलेका स्वास्थ्य संस्था क्लिनिक अस्पतालहरु विना दर्ता सञ्चालनमा आइरहँदा पनि राज्यका निकायहरुको सकृय निगरानी नहुँदा जनताले ठूलो जोखिम मोलेर स्वास्थ्य सेवा लिनु परिरहेको  छ । पछिल्लो समयमा स्वास्थ्य जस्तै शिक्षा क्षेत्रले पनि जोखिम वेहोर्नु पर्ने अवस्था रहेको छ ।

 राज्यले शिक्षालाई व्यवस्थापन गर्ने सम्वन्धि ऐन नियम बनाए पनि त्यसको कार्यान्वयन गर्ने तर्फ सकृय उपस्थिति नदेखाउँदा अराजकताले मलजल पाइरहेको छ । पछिल्ला वर्षहरुमा निजी क्षेत्रवाट खुलेका शैक्षिक प्रतिष्ठानहरु ठगहरुका लागि स्वर्ग बन्न थालेका छन् । जनताको लगानी मात्र हैन भविष्य माथि नै खेलवाड गर्ने यस्ता कुतत्वहरुलाई राज्यकै जिम्मेबार अधिकारीहरुवाट संरक्षण हुने गरेको छ । राज्य प्रशासनको बाक्लो उपस्थिति रहेको पोखरा लेखनाथ महानगरपालिका भित्रै अवैध ढंगले निजी बोर्डिङ स्कुलहरु सञ्चालनमा आइरहेको पाइएको छ । बोर्डिङमा निजी क्षेत्रको लगानी रहेपनि राज्यको कानून बमोजिम दर्ता स्वीकृति लिएर मात्र बोर्डिङ स्कूलहरु सञ्चालन गर्न पाइने प्रावधान छ । तर, पोखरा लेखनाथ महानगरपालिका वार्ड नं. ११ मा सञ्चालनमा रहेको पिनाकल एकेडेमीले राज्यको स्वीकृति नै नलिइकन थप कक्षा सञ्चालन गरेर शिक्षा ऐन नियमलाई ठाडो चुनौती दिएको छ । पिनाकल एकेडेमीले १ देखि ५ कक्षा सम्म पढाउनका लागि स्वीकृति लिएर ८ कक्षा सम्मको पढाई सञ्चालनमा ल्याएको छ । पिनाकल एकेडेमीले ५ भन्दा माथिको कक्षा अवैध ढंगले सञ्चालनमा ल्याएको छ । जिल्ला शिक्षा कार्यालयले सम्पूर्ण स्थलगत भौतिक एवम् शैक्षिक अवस्थाको मूल्यांकन गरेर मात्र थप कक्षा सञ्चालनको अनुमती दिने गर्छ । अनुमति नदिएसम्म कक्षा संचालन गर्न कानूनले वर्जित गरेको छ । राज्यको स्वीकृति नलिई बढी कक्षा सञ्चालन गर्ने विद्यालयलाई दर्ता खारेजी सम्म गर्न सकिने जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी नवराज चापागाइले बताए । विद्यालय सञ्चालकले नियम उल्लंघन गर्दा हुने क्षति भन्दा विद्यार्थीमा पर्न जाने क्षति झन् कहालीलाग्दो रहेको छ । स्वीकृति नलिई सञ्चालनमा आएका विद्यालयहरुको परीक्षा रजिष्टेशन फारम समेत शिक्षा कार्यालयले रोक्न सक्ने हुँदा अवैध विद्यालयमा पढ्ने विद्यार्थीहरुको पढाई नै गुम्न सक्ने प्रवल सम्भावना रहन्छ । यसतर्फ अभिभावकले बेलैमा सोचेर कदम चाल्न जरुरी रहेको कतिपयले सल्लाह दिएका छन् । स्वीकृति नलिई विद्यालयको सरुवा कानूनलाई मुठ्ठीमा लिएर काम गर्ने पिनाकल एकेडेमीको अर्को अवैध कार्य पनि खुल्न आएको छ । पोखरा १२ रानीपौवामा स्कूल सञ्चालन गर्ने स्वीकृति लिएको पिनाकल एकेडेमीले शिक्षा कार्यालयको सहमती बिनै मनोमानी ढंगले पोखरा महानगरपालिका वार्ड नं. ११ मा स्कूल स्थानान्तरण गरेर संचालन गरिरहेको पाइएको छ ।

 एकेडेमीका संचालक, प्रिन्सिपल समेत रहेका कमल जिटीले विद्यालयको सरुवा सहमती नलिई १२ नम्वर वडा बाट ११ नम्वर वडामा विद्यालय सारेर पढाइ सञ्चालन  गरिराखेका छन् । शिक्षा कार्यालयको अभिलेखमा पिनाकल एकेडेमी पोखरा १२ मा रहेको छ । तर, पनि विद्यालयका सञ्चालक जिटी आफूले स्वीकृति लिएको दावी गर्छन् । विद्यालयको सरुवा सहमतीको लिखित दस्तावेज माग्दा उनले आफैले २–३ दिनमा उपलव्ध गराउने बताएका थिए । केहि दिनमात्र अगाडि पिनाकल एकेडेमीका सञ्चालक जिटीलाई जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले आफ्नो कार्यकक्षमा बोलाएर आफू खुसी ठाउँ सारी गरेर अवैध कक्षा संचालन नगर्न चेतावनी दिएका थिए । संचालक जिटीले पहिला स्वीकृति लिएर मात्र  ठाउँ सारी गर्ने र थप कक्षा सञ्चालन गर्न जरुरी छ ।

 कानूनलाई मुठ्ठीमा लिएर शिक्षालाई व्यापार बनाउने छाडा प्रवृत्ति रोक्न शिक्षा कार्यालयले तत्काल कारवाही प्रकृया अगाडि बढाउने संकेत गरेको छ । राज्यका कानून कार्यान्वयन गर्ने निकायहरु कडा रुपले प्रस्तुत हुन नसक्ने हो भने त्यो अराजकताले हजारौं जनताको भविष्य अन्धकार बन्न सक्ने उत्तिकै खतरा रहेको छ । यसअघि यस्तै प्रकरण ह्याप्पी वोर्डिङका सम्वन्धमा खुलेरै विरोधमा उत्रेका विद्यार्थी संघ संगठनहरु अहिले किन मौन छन् । भोली विद्यार्थीको भविष्य बिग्रिएपछि धिक्कार्नु भन्दा बेलैमा छानविन गरि कारवाही तर्फ जानु उत्तम कदम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित