डनहरुको आफ्नै ब्यथा : गोली हान्ने दिल्लीमा, खाने सिंगापुरमा

काठमाडौं । महानगरिय अपराध महाशाखाले दावा लामा गोली काण्डको तथ्यबारे कुनै सुईंको पाउन नसकिरहेको बेला पीडित भनिएका लामा नै विदेश फरार भएका छन् । गुण्डा नाइके लामा आफ्ना दुई साथी फुर्वा लामा र सञ्जीव तामाङसँग सिङ्गापुरतिर फरार भएका हुन् ।

 लामामाथि गोली प्रहार हुँदा लोप्साङ राई भन्ने व्यक्तिले एसएसपी छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए । लामाका दुस्मन रहेका राईले बाफलका डन समिरमानसिंह बस्नेतको निर्देशमा लामामाथि गोली हानेको निष्कर्ष निकाल्दै अनुसन्धान त्यतातिर मोडिए पनि प्रहरीलाई कनै सफलता हात परेन । किनकी बस्नेत कहिले मलेसिया त कहिले बैंङकक र कहिले दिल्लीमा लुकेर बस्दै आएका छन् ।प्रहरीले लोप्साङ राई भन्ने व्यक्तिको बारेमा पनि कुनै सुईको पाउन सकेको छैन ।

 लामाका सहयोगी गणेश लामाको समूहले भने आफ्ना दुस्मन रहेका केही व्यक्ति विरुद्ध लामालाई किटानी जाहेरी हाल्न उक्साउँदै आएका छन् । तर, महाशाखाले भने फर्जी भन्दै जाहेरी नै लिन मानेको छैन । नेपाली कांग्रेस काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थ लामाको संरक्षणमा राजधानीमा गुण्डागर्दी गर्दै आएका लामा डरका कारण नै सिङ्गापुरतिर पुगेको स्रोतको भनाई छ । लामाले अब बस्नेतकै शैलीमा विदेशबाट फिरौती धन्दा चलाउन सक्ने भय पनि बढेको छ । किनकी उनी राजधानीमा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका थिए ।

 लामाका कारण यस अघि शान्ति सुरक्षामा चुनौती बढेको थियो । तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिको ठाडो दवाव र आदेशमा पक्राउ परेका लामालाई प्रहरीले छाड्नु परेको थियो । लामाले आफूलाई गोली हान्ने समूहलाई पक्राउ गर्न र अनुसन्धानमा असहयोग गरेको प्रहरीको भनाई छ । सो घटनाका दोषी पक्राउ पर्दा आफू पनि फस्ने डरले लामाले अनुसन्धानमा असहयोग गरेको हुन सक्ने प्रहरीको अनुमान छ । हुन त लामाले घटनामा कुनै संलग्नता नै नदेखिएकाहरूको नाम पनि मुछेका थिए । दरबारमार्ग क्षेत्रलाई आफ्नो गैरकानुनी कार्यको अखडा बनाएका लामालाई कांग्रेस नेताहरूको संरक्षण रहेको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित