प्रधानन्यायाधीश पदमा गोपाल पराजुलीको कार्यकाल ११ महिना हुने

 काठमाडौँ । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसहित वरिष्ठताका आधारमा छ जनाको नाम सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जवरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ ।

 कामु प्रधानन्यायाधीश पराजुलीको जन्ममिति कायम गर्ने सम्बन्धमा सर्वोच्च अदालतको उल्लिखित आदेश समेतका आधारमा तत्कालीन न्यायाधीश पराजुलीको जन्ममिति २०१० साल वैशाख १६ कायम गरी त्यसको जानकारी संवैधानिक परिषद्मा पठाइदिने निर्णय गरेको छ ।

 यसले पराजुलीलाई प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला गरेको छ भने उनको कार्यकाल ११ महिना हुने छ । परिषद्ले   उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटन हेटौँडा इजलासमा, उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश राजकुमार वनलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा काज सिफारिस गरेको छ ।

   त्यसैगरी, उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीश ऋषिराम दवाडीलाई उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासमा, उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा र उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत सुर्खेतमा परिषद्ले काजमा सिफारिस गर्ने निर्णय गरेको छ ।   परिषद्ले उच्च अदालत पाटन, हेटौँडा इजलासका न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा तोक्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित