क्यु नेटको जालो हङकङबाट सुरु, भारत हुँदै नेपालमा भित्रियो अर्बौ ठगि धन्दा

काठमाडौं।  युनिटी  शैलीमै नेटवर्क ठगी धन्दा फेरि सुरु भएको  छ। चिकित्सक, इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट व्यवसायमा सक्रियको संलग्नतामा नयाँ नेटवर्किङ धन्दा सुरु भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको हो। डेढ वर्षदेखि नेपालमा क्यु नेट नेटवर्कको नाममा पिरामिड शैलीमा नेटवर्कको धन्दामा संलग्न एक सय दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तीमध्ये १४ जनालाई हिरासतमा राखिएको छ। हिरासतमा रहेकामध्ये कोही चिकित्सक छन् त कोही इन्जिनियर र एकाउन्टेन्ट।

 सूचनाको आधारमा अनुसन्धानमा खटिएको ब्युरो टोलीले आइतबार प्रशिक्षण चलिरहेका बेला बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा छापा मारेको थियो। छापा मार्दा एक सय दुईजना प्रशिक्षणमा थिए। सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १४ जना मुख्य व्यक्ति रहेको खुलेपछि उनीहरुलाई सोमबार अदालतमा पेस गरेर न्यायिक हिरासतमा राखी अनुसन्धान सुरु गरिएको ब्युरोकी प्रवक्ता मिरा चौधरीले जानकारी दिइन्। हिरासतमा रहेकाले हङकङमा रहेको क्युआई कम्पनीसँग मिलेर विभिन्न सुविधाको बहानामा पिरामिड शैलीमा धन्दा चलाउँदै आएको चौधरीले जानकारी दिइन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आइतबार सिद्धार्थ फुडल्यान्ड पुग्दा त्यहाँ रहेकालाई भारतको बैङलोर, मलेसिया र हङकङमा रहेका क्यु नेटका प्रतिनिधिले अनलाइन प्रशिक्षण दिइरहेका थिए। उनीहरूले प्रशिक्षणमा सदस्य बन्न प्रोत्साहित गर्दै सदस्य बन्दा लाग्ने शुल्क, सदस्य बढाउने शैली र त्यसबापत आउने कमिसनबारे जानकारी दिइरहेका थिए। बेलाबेलामा नेपालमा रहेका एजेन्टले क्यु नेटको सदस्य बन्दा आफूले पाएको आर्थिक फाइदाबारे बताउँदै सदस्य बन्न प्रोत्साहित गरिरहेका थिए। केही समय प्रशिक्षण चलेपछि ब्युरोको टोली हलमा प्रवेश गरेर त्यहाँ रहेकालाई नियन्त्रणमा लिएको थियो।

 नियन्त्रणमा परेकामध्ये अधिकांश इन्जिनियर, डाक्टर, एकाउन्टेन्ट र सञ्चारकर्मीसमेत थिए। आइतबार रातभरको छानबिनपछि प्रहरीले प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सृजना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई ठगी अभियोगमा अदालतमा पेस गरेर म्याद लियो। हिरासतमा लिइएका सबै गोल्ड क्वाइन पाएका सदस्य हुन्। प्रहरी हिरासतमा रहेकामध्ये श्वेता र सुमित मुख्य लिडर रहेको खुलेको छ। श्वेता सबैभन्दा धेरै सदस्य बनाउन र प्रशिक्षण चलाउन संलग्न भएको देखिएको छ भने सुमितको खातामा क्यु नेटबापतको ५१ हजार अमेरिकी डलर ९५१ लाख रुपैयाँ रहेको खुलेको छ। हिरासतमा रहेकामध्ये सिंह पेसाले चिकित्सक हुन्, प्रकृति बुढाथोकी चार्टर। अनुसन्धान अधिकारीका अनुसार हिरासतमा रहेका अन्य पनि कोही इन्जिनियर छन् त कोही एकाउन्टेन्ट। नेटवर्क व्यवसायको आवरणमा सर्वसाधारणसँग पैसा लिएर ठगी गर्ने गोल्डक्वेस्टझैं क्यु नेटको जालो हङकङबाट सुरु भएको हो।

 भ्रमण, हर्बल सामग्री, घडी, सञ्चार उपकरण र स्वास्थ्य उपकरणको आवरणमा पिरामिड शैलीमा व्यापार गर्दै आएको सो धन्दा भारत हुँदै नेपाल भित्रिएको हो। भारतमा सन् २००३ मै क्यु नेटको आवरणमा भएको ठगी धन्दाबारे भण्डाफोर भएको थियो। मुम्बई प्रहरीको आर्थिक अनुसन्धान शाखाले क्यु नेटको आवरणमा चलिरहेको नेटवर्क व्यवसायबारे अनुसन्धान गर्दा सेलिब्रेटी र प्रतिष्ठित व्यक्ति संलग्न रहेको खुलेको थियो। सर्वसाधारणको एक खर्बभन्दा बढी रकम ठगी भएको खुलासा गर्दै मुम्बई प्रहरीको आर्थिक अपराध अनुसन्धान शाखाले ठगीमा संलग्न अभियोगमा बिलियर्ड एमेच्योरमा तीनपटक विश्व च्याम्पियन भएका माइकल फरेरालाई सहयोगीसहित पक्राउ गरेको थियो। भारतमा प्रतिबन्ध लागेपछि धन्दा नेपाल सरेको अनुसन्धानमा खुलेको छ। डेढ वर्ष अगाडिबाट नेपालमा सुरु भएको धन्दा एक वर्षदेखि फैलिन थालेको ब्युरोको अनुसन्धानमा खुलेको छ।नागरिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित