भारतको चेतावानी सँगै मधेसी दलहरु एक्लिने खतरा

काठमाडौं । भारतले नेपालमा हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिएपछि मधेसवादी दलहरुबीच खैलाबैला सुरु भएको छ । पछिल्लो समयमा सरकार गठन देखि राजनीतीक बिषयमा मौन बसेका भारतका नेता तथा कुटनीतिज्ञले चुनावले नै लोकतान्त्रिक व्यवस्था र उपलब्धिहरु संस्थागत गर्ने तथा नेपाललाई समृद्धितर्फ अघि बढाउने भएकाले सबै पक्षको सहभागितामा निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखेका छन् ।

 आइतबारमात्रै कंग्रेस आईका विदेश विभागप्रमुख डा. करण सिंह, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरी, जनतादल युनाईटेडका नेता शरद यादव, भाजपाका नेता एवं रेलमन्त्री सुरेश प्रभुले नवगठित राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा भाग लिन आग्रह गरेका बेला सोमबार पूर्वभारतीय राजदूत राकेश सुदले पनि चुनावमा भाग लिनुपर्ने सुझाव दिए ।

 नेपाल मामिलाका जानकार पूर्वराजदूत सूदले भारतीय पत्रिका द हिन्दुमा सोमबार एक लेखमार्फत् स्थानीय चुनावमा भाग नदिए मधेसकेन्द्रित दललाई घाटा हुने स्पष्ट पारेका हुन् । राजपाले निर्वाचन बहिस्कारको घोषणा गरेकै भोलिपल्ट पूर्वभारतीय राजदूतबाट यस्तो प्रतिक्रिया आएको हो ।

 उनले चुनावमा आएनन् भने मधेसी दलहरु एक्लिने र उनीहरुलाई घाटा हुने भन्दै सचेत समेत गराएका छन् । अहिलेको स्थानीय चुनावमा भाग नलिँदा उनीहरुलाई आगामी प्रान्तीय चुनाव र केन्द्रको चुनावमा समेत घाटा हुने भन्दै भारतीय पूर्वराजदूत सुदले भनेका छन्– ‘यदि उनीहरु आगामी पाँच वर्षका लागि स्थानीय राजनीतिबाट बाहिर रहे भने कार्यकर्तालाई थामिराख्न र आगामी प्रान्तीय र केन्द्रीय निर्वाचनमा राम्रो नजिता ल्याउन असमर्थ हुनेछन् ।'

प्रतिक्रिया

सम्बन्धित