तराईमा चुनावै हुन नदिने राजपाको चेतावनी, अान्दाेलन घाेषणा गर्दै

काठमाडौं : सरकारसँग सहमति नभएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनावविरोधी आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आइतबार सिंहदरबारमा भएको छलफल पनि बिनानिष्कर्ष टुंगिएपछि राजपा आन्दोलनमै जाने मनस्थितिमा पुगेको हो । वार्तापछि राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले सरकार स‌ंविधान स‌ंशोधन, त्यसबाहेक व्यवहारिकरुपमा मिलाउनुपर्ने कुरा र जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या बढाउने कुरामा निरीह देखिएकोले सहमति हुन नसकेको भन्दै आपूmहरुसँग आन्दोलनको विकल्प नभएको बताए । तत्काल राजपाको बैठक बसेर आन्दोलन घोषणा गरिने उनको भनाइ छ । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा नेताहरु नयाँ रणनीति बनाउन छलफलमा जुटेका हुन् । राजपाबिना तराईमा चुनाव हुन नसक्ने ठोकुवा गर्दै उनले बलप्रयोग गरेमा ठूलो क्षति पुग्ने चेतावनी पनि दिए । सरकारले राजनीतिक दल दर्तासम्बन्धी ऐन स‌ंशोधनको कुरा गरेर मुद्दालाई छायाँमा पार्न खोजिएको उनको आरोप छ । झाले संविधान संशोधन, यसअघिका आन्दोलनका क्रममा मारिएका कार्यकर्तालाई सहिद घोषणा, घाइतेको उपचार, राहत क्षतिपूर्तिको विषय टुंग्याउनै बाँकी रहेको बताए । यता, राजपालाई चुनावमा सहभागी गराउन भन्दै सरकारले आजै राजनीतिक दल दर्तासम्बन्धी ऐन स‌ंशोधनका लागि संसद्‍मा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार र आइतबार दुई दिनसम्म बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठक निष्कर्षविहीन भएको थियो । राजपाले असार १४ को चुनाव सार्न माग गरेको थियो । सबै प्रदेशको चुनाव सार्न नसकिए २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्नुपर्ने राजपाको माग छ । राजपाको माग सत्तारुढ कांग्रेस(माओवादीका नेताहरुले ठाडै अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित