यी हुन् कोरोना संक्रमित एसियाका ‘टप टेन’ मुलुक, भारत पहिलो नम्बरमा, चीन सातौं नम्बरमा, नेपाल २५ औं

Asia

 

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसबाट हालसम्म एसियामा १६ लाख भन्दा धेरै संक्रमित देखिएका छन् भने ४० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म एसियाका ४९ देशमा गरी १६ लाख १७ हजार १ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये भारतमा सबैभन्दा धेरै ३ लाख ३३ हजार ८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४० हजार २ सय ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि भारतमा सबैभन्दा धेरै ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा धेरै संक्रमण देखिएको भारतपछि क्रमशः इरान, टर्की, पाकिस्तान, साउदी अरेबिया, बंगलादेश, चीन, कतार, युएई, सिंगापुर रहेका छन् ।

कोरोनाको उद्गमस्थल चीन एसियामा संक्रमित हुनेको सूचीमा सातौं स्थानमा रहेको छ । चीनमा हालसम्म ८३ हजार १ सय ३२ जनामा संक्रमण देखिएको छ भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

सार्क सदस्य राष्ट्र पाकिस्तान र बंगलादेश क्रमशः चौथो र छैटौं स्थानमा रहेका छन् । पाकिस्तानमा १ सय ३९ हजार २ सय ३० जनामा संक्रमित र २ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ भने बंगलादेशमा ८७ हजार ५ सय २० संक्रमित छन् भने १ हजार १ सय ७१ जनाको मृत्यु भएको छ । 

एसियाका भारत, इरान, टर्की, पाकिस्तान र साउदी अरेबियामा १ लाख भन्दा धेरै संक्रमित पुगेका छन् । 

नेपाल भने २५ औं स्थानमा रहेको छ । नेपालमा हालसम्म ५ हजार ७ सय ६० जना संक्रमित पुगेका छन् ।

त्यस्तै मृतकको सूचीमा पनि भारत नै अग्रपंक्तिमा रहेको छ । भारतमा हालसम्म ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ । भारतमा पछि इरानमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इरानमा हालसम्म ८ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।

त्यसपछि टर्की, चीन, पाकिस्तान, इन्डोनेसिया, बंगलादेश, फिलिपिन्स, साउदी अरब र जापान रहेका छन् । तीमध्ये साउदी अरब र जापानमा १ हजारभन्दा कम संख्यामा मृत्यु भएका छन् भने अन्य मुलुकहरुमा १ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

एसियामा पछिल्ला दिनहरुमा कोरोना संक्रमित हुने र मृतकको संख्या बढ्दो क्रममा रहेको छ ।

पछिल्लो २४ घन्टामा ३९ हजार ५ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ भने ७ सय ७२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित