रेलका डिब्बाबाट आइसोलेसन वार्डको अभाव पूर्ति गर्दै दिल्ली सरकार
नयाँदिल्ली । कोरोना भाइरसका कारण भारतमा संक्रमितको संख्या तीब्रगतिमा बढ्दै गएकोले दिल्ली सरकारले रेलका डिब्बाहरुलाई आईसोलेसनमा परिणत गर्ने भएको छ । दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको छ । दिल्ली सरकारले यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु सोमबारदेखि बन्द गरिएको छ ।
दिल्ली सरकारले यो कुराको जानकारी दिएको हो । दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरबिन्द केजरिवालले सोमबारबाट उक्त क्षेत्रका रेलहरुलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको बताइएको छ । यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो ।
मुख्यमन्त्री केजरीवालले जवाहरलाल नेहरू रंगशालालाई क्वारेन्टाइन सेन्टर बनाउने बताएका थिए । रंगशालाहरुलाई पनि क्वारेन्टाइन र उपचार केन्द्र बनाएर विदेशबाट आउने नागरिकलाई त्यहाँ राख्ने निर्णय गरिएको जनाएको थियो ।
सोमबार दिइएको समाचारअनुसार भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडी दिल्ली सरकारलाई दिने निर्णय भएकोले सो उपलब्ध गराउने जनाइएको छ । यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिने छ ।
ती रेलका डिब्बाहरुमा आइसोलेसनका शैयाहरु बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ । जसका कारण यहाँ हजारौँ मानिसलाई राख्न सकिने छ । यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ ।
एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ । भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो । तर यहाँ कारोना भाइरस संक्रमण भने बढेको त्यहाँका अधिकारीले बताएका छन् । अहिलेसम्म भारतमा यो भाइरसका संक्रमितहरुको संख्या तीन लाख नाघिसकेको छ ।
त्यस्तै यो महामारीबाट ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय राज्यहरूले भाइरसको सम्भावित प्रकोपसँग जुध्न रेल सेवालाई पनि अस्थायी अस्पताल बनाउन सुरु गरेका छन् । भारतमा कोरोना भाइरसबाट हुने श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याको उपचारका लागि आवश्यक भेन्टिलेटर, चिकित्सक तथा आवश्यक औषधि–उपकरणको अभाव भएको बताइएको छ ।
प्रतिक्रिया